बाजुराको बिउरा खोलाको बाढीले बडीमालिका नगरपालिका ९ सेलाघाटको बस्ती नै जोखिममा परेको छ । शुक्रबार रातीको वर्षाले स्थानीय खहरे खोलाको बाढीले सिंगो सेलाघाट बस्ती नै जोखिममा परेको हो । बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरमा क्षति पुगेको छ भने अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय मिन बहादुर थापाले बताउनु भयो ।
बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० भन्दा बढी मरेका छन् । सयौ मुरि फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ भने सिंगो खेत बगरमा परिणत भएको छ । बाढी राती १ बजेपछि आएको थियो । बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ । सेलाघाट बस्तीलाई सार्नुको अर्को विकल्प नै देखिएको छैन् । अहिले सबै परिवार सुरक्षित रहेको र अन्यन्त्र बासका लागि प्रबन्ध गर्नु पर्ने प्रहरीले जनाएको छ ।
Comments are closed.