कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाटाको भ्रमण गरेका छन् । जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन् । आर्थिक वर्ष २०७६÷७७ र आर्थिक वर्ष २०७७÷७८ मा एकाएक घटेको संख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो ।
आर्थिक वर्ष २०७६÷७७ मा एक हजार ७७५ जनाले शुक्लाफाटाको अवलोकन गरेका थिए । जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए ।
आर्थिक वर्ष २०७७÷७८ मा अलि बढेर दुई हजार ९३५ पुग्यो तर तीन जना विदेशी पुरुष तथा सार्क राष्ट्रका दुई जना महिला र तीन जना पुरुष मात्रले शुक्लाफँटाको अवलोकन गरेका थिए । बँकी सबै आन्तरिक पर्यटक रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।
कोभिड सुरु हुनुभन्दा पहिले आर्थिक वर्ष २०७५÷७६ मा शुक्लाफाटामा आन्तरिक तथा बाह्य गरेर १२ हजार १३८ जनाले शुक्लाफाटाको भ्रमण गरेको तथ्याङ्क छ । त्यस्तै ०७४÷७५ मा चार हजार सात सय जना पर्यटकले शुक्लाफाटाको अवलोकन गरेका थिए । शुक्लाफाटामा विशेष गरेर जङ्गल सफारी, रानीताल अवलोकन, चराको अवलोकन, एसियाकै दोस्रो ठूलो घासे मैदानको अवलोकन, हात्तीमा सफारी, झुण्डमा बाह्रसिङ्गाको अवलोकन, चितल, कृष्णसार, सिंहपाल बाबा मन्दिर र बाघ लगायत जङ्गली जनावरको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।
Comments are closed.