ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। यससँगै ईयू र ब्रिटेनबीच झन्डै आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।
ब्रिटेनका मतदाताले साढे तीन वर्षअघि ईयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।
ब्रिटेन ईयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ। स्कटल्यान्डमा मैनबत्ती बालेर मानिसहरूले प्रदर्शन गरेका छन्।
त्यहाँका मतदाताले जनमतसङ्ग्रहका बेला ईयूमा रहने पक्षमा मतदान गरेका थिए।
ब्रेक्जिटका समर्थकहरूले चाहिँ लन्डनस्थित संसद्भवनअगाडि त्यसको स्वागतमा उत्सव मनाएका छन्।
प्रधानमन्त्री बोरिस जोनसनले देशलाई एकसाथ ल्याउने र नयाँ बिहानीको आरम्भ गर्ने वाचा गरेका छन्।
जनादेश
सन् २०१६ को जुन २३ तारिखमा भएको जनमतसङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए।
त्यसपछि ब्रिटेन ईयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो। तर त्यस क्रममा ब्रिटेनले विभिन्न खाले व्यवधानको सामना गर्नुपर्यो।
यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री पनि फेरिए।
तस्वीर कपीराइटGETTY IMAGESयुरोपेली सङ्घसँगको ४७ वर्षे लामो सदस्यताबाट यूके जीएमटीअनुसार राति ११ बजे अलग्गिएको हो।
प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सामाजिक सञ्जालमा एउटा सन्देश जारी गरेका थिए।
अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले सबै भावनालाई साथ लिएर अघि बढ्ने वाचा गरेका छन्।
उनले भने, “धेरै मानिसहरूका लागि यो आशाको त्यो घडी हो जुन उनीहरूलाई कहिल्यै नआउने हो कि जस्तो लागेको थियो। यद्यपि कैयौँ मानिसहरू यस्ता पनि छन्, जसलाई चिन्ता लागिरहेको छ र नोक्सान भएको जस्तो महसुस भइरहेको छ।”
जोनसनले “यो राजनीतिक गतिरोध कहिले समाप्त होला वा नहोला भनेर सबैभन्दा बढी चिन्तित बनेको तेस्रो समूह” पनि रहेको बताए।
उनले भने, “म सबै भावनाहरूको बुझ्छु र विशेषगरी सरकार तथा मेरो यो जिम्मेवारी हो कि यो देशलाई साथ लिएर अघि बढौँ।”
ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्याली, उत्सव र मैनबत्ती बालेका छन्।
यूकेले “सङ्क्रमणकाल” सुरु गर्ने भएकोले परिवर्तन चाहिँ खासै देखिनेछैन।
कानुनहरू यथावत्
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहनेछन्।
जस्तो कि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।
त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य यूकेले राखेको छ।
लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि “देश अगाडि बढ्नुपर्थ्यो” र युरोपली सङ्घसँग “राम्रो सम्बन्ध बनाइरहनुपर्थ्यो” भनेका छन्।
विनाआधार अमेरिकासँग “सम्झौत गर्न हामफाल्न नहुने” पनि उनले बताए।
उनले सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमतसङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि ईयूबाट बाहिरिन दिन सबैका लागि धेरै महत्त्वपूर्ण भएको पनि बताए।
जनमतसङ्ग्रहका बेला ईयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेभिड क्यामरनले पनि “आजको दिन आफ्नो देशका लागि निकै ठूलो” भएको बताएका छन्।
उनले ब्रिटेनका जनताको “रोजाइ सफल हुन्छ” भन्ने विश्वास लिएको पनि बताए।
तस्वीर कपीराइटREUTERSब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भने, “अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौं। संस्थापनविरुद्ध लड्ने मानिसका लागि यो ठूलो जित हो।”
सुरुमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटकपटक त्यो पछाडि धकेलिएको थियो।
“ब्रेक्जिट गर्ने” प्रतिबद्धतामा गत डिसेम्बर महिनामा भएको निर्वाचनमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर जितेपछि प्रधानमन्त्री जोनसनले संसद्मार्फत् यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए।
योसँगै जनमतसङ्ग्रहपछि भएका तीन वर्षभन्दा लामो समयको राजनीतिक तर्कवितर्कको अन्त्य भएको छ।
उक्त जनमतसङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो।
तस्वीर कपीराइटAFPसन् २०१६ मा ईयूबाट यूके बाहिरिनुपर्ने भन्दै अभियान चलाएका प्रधानमन्त्री जोनसनले आशावादी सन्देश दिने प्रयास गरेका छन्।
“आजको रात भन्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो आरम्भ हो,” डाउनिङ स्ट्रीटमा खिचिएको भिडिओ सन्देशमा उनले भने।
“यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ। यो क्षण साँचो रूपमा राष्ट्रिय नयाँपन र परिवर्तनको हो।”
Comments are closed.