महेन्द्रनगर नगर विकास जग्गा प्रकरणमा विशेष अदालतले गर्‍यो यस्तो आदेश

महेन्द्रनगर । महेन्द्रनगरको बहुचर्चित जग्गा घोटाला प्रकरण महेन्द्रनगर नगर विकास समितिको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ‘बुझ्ने आदेश’ दिएको छ । न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलाशमा सुनुवाइ भएको हो ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा कान्तुराम पनेरु समेत २२ जना, पल्टु राना समेत २५ जना, र गोपाल रसाईली समेत ३७ जना विपक्षी रहेका ४ मुद्दामाथि सुनुवाइ भएको विशेष अदालतले जनाएको छ । विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले साक्षी बुझ्ने आदेश भएको जानकारी दिए । अब साक्षीलाई म्याद तोकी बकपत्र गराइनेछ ।

विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सक्कल कागजात झिकाउने आदेश समेत दिएको उनले बताए । साक्षी बुझ्ने र कागजात झिकाउने कार्य सकिएपछि पुनः पेशी तोकेर सुनुवाइ हुनेछ । महेन्द्रनगरको बहुचर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

 

सम्बन्धित

Comments are closed.