महेन्द्रनगर । डोटीको जोरायल गाउँपालिकाले बासमती धान उत्पादनका लागि विपन्न बादी समुदायका घरपरिवारलाई जमिनको भाडा तिरेर सहयोग गरेको छ । परम्परादेखि नै नाचगान गर्ने पेसामा आबद्ध बादी समुदायको पेसा सङ्कटमा पर्न थालेसँगै धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराइएको छ ।
परम्परादेखि नै विवाह, व्रतबन्धलगायत विभन्न चाडपर्व र मेलामा नाचेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिलाई नाचगानबाट आम्दानी कम हुन थालेसँगै घरपरिवारलाई हातमुख जोर्नसमेत समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बासमती धान उत्पादनका लागि उपलब्ध गराएको छ ।
गाउँपालिकाका उपाध्यक्ष जमुना रोकाया बोहोराका अनुसार विपन्न वर्गका लागि आयआर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणाली अन्तर्गत आर्थिक वर्ष २०७५र७६ देखि नै वार्षिक रूपमा प्रतिरोपनी १५ हजारका दरले ७५ हजार रुपियाँमा जमिन भाडामा लिइँदै आएको छ । उपाध्यक्ष बोहोराले भने, “नियमित रूपमा खेती गर्ने जमिन पनि नभएकाले बादी समुदायका व्यक्तिलाई बिहानबेलुका के खाने भन्ने समस्या देखिएको थियो ।
हामीले जमिनको भाडाबापतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौँ । यसबाट थोरै भए पनि बादी समुदायकालाई राहत भएको छ । जमिन भाडामा दिनेबारेको सम्झौता प्रत्येक तीन÷तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ ।”डोटीको जोरायल क्षेत्र हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बासमती पछिल्लो समय जिल्लाबाहिर पनि निर्यात हुन थालेको छ ।
गाउँपालिकाका नायब सुब्बा चन्द्रबहादुर सार्कीले भने, “गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बसोबास गर्दै आएका बादी समुदायको घरपरिवार यसबाट लाभान्वित भएका छन् । आफ्नो जमिन नभएकाले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।”
Comments are closed.