गहु खरिद शुरु
धनगढी, २५ बैशाख
खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढी कैलालीले गहुँ खरिदअन्तर्गत टीकापुरका दुई स्थानबाट किसानको गहुँ खरिद शुरु गरेको छ। कोभिड–१९ को जोखिम हुन हुन नदिन लकडाउन जारी रहदा सत्तीमा गत सोमबार र खाद्य गोदाममा बुधबारदेखि काँटा लगाई खरिद शुरु गरेको हो। कम्पनीले खरिद शुरु गरे पनि किसानको गहुँ खरिद केन्द्रसम्म न्यून आएको जनाइएको छ। सत्तीमा तीन दिनमा एक हजार २०० क्विन्टल मात्र खरिद भएको टीकापुर खरिद केन्द्रका प्रमुख चेतमान कठायतले जानकारी दिए। सरकारले तोकेको समर्थन मूल्य तीन हजार १५ सहित पल्लेदारी ज्याला लगाउने गरी कम्पनीले खरिद गरिरहेको छ। बजारका व्यापारीले उक्त मूल्यभन्दा केही महँगोमा खरिद गरिरहेकाले खरिद केन्द्रसम्म किसानको गहँु आउन नसकेको उनको भनाइ छ। कम्पनीले यो वर्ष १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेर कैलालीका तीन ठाउँबाट खरिद शुरु गरेको छ। धनगढीको मोहनपुर, टीकापुरको खाद्य गोदाम र सत्तीबाट खरिद गरिरहेको हो। टीकापुरबाट आठ हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको भए पनि यो वर्ष बिक्री केन्द्रसम्म न्यूनरुपमा किसानको गहुँ पुगेको खरिद प्रमुख कठायतले बताए। कैलालीमा ३४ हजार ५०० हेक्टरमा गहुँ खेती हुने गरेको छ । किसानले वर्षे खेतीका लागि आवश्यक खर्च जोहो गर्न हिउँदे खेती बिक्री गर्नुपर्ने हुन्छ। कम्पनीले ढिलो गरी खरिद शुरु गरेकाले किसानको गहुँ गाउँमै रहेका व्यापारीले खरिद गरिसकेको बताइएको छ। विगतका वर्षमा किसानबाट सस्तोमा खरिद गर्ने व्यापारी अहिले सरकारले समर्थन खरिद मूल्य तोकेपछि तोकेको मूल्यभन्दा बढीमा किन्नसमेत तयार छन्। व्यापारी रवीन्द्र ठकुल्लाले सरकारले तोकेको भन्दा बढी मूल्य तिरेर गहुँ खरिद गर्न व्यापारी तयार रहेको जानकारी दिनु भयो । उहाले व्यापारीले तीन हजार ५० क्विन्टलसम्ममा खरिद गर्न थालेको बताउनु भयो ।
शुक्लाफाँटा खबर
6815 posts
Comments are closed.