विदेशबाट आउँनेहरुलाई नयाँ नियम, आउँदा ल्याएको मोबाइल बिक्री गर्न नपाइने

महेन्द्रनगर । सरकारले झिटिगुन्टासम्बन्धी नियममा केही परिवर्तन गरेको छ। विशेषगरी विदेशबाट आउँदा ल्याउन पाइने सामानको व्यवसायिक खरिदबिक्रीमा रोक लगाइएको छ भने कतिपय सामान ल्याउन सजिलो बनाउँदै नियमहरू परिमार्जन गरिएको भन्सार कार्यालयले जनाएको छ।

साथै, पहिले अस्पष्ट रहेका केही नियमलाई स्पष्ट र सरलीकृत गरिएको छ। संशोधित नियमअनुसार श्रम स्वीकृति लिएर विदेश गएर कम्तीमा ६ महिना काम गरेर फर्कने व्यक्तिले एउटा नयाँ मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरिएको छ। यसअघि एउटा प्रयोग भइसकेको मोबाइल बाहेक थप एउटा ल्याउन पाइने सुविधा थियो।

तर यसले नयाँ हो कि पुरानो भन्ने दुविधा हुने, कतिपय अवस्थामा दुरुपयोग र विवादसमेत देखिएकाले अब नयाँ स्पष्ट व्यवस्था अनुसार एकवटा मात्र नयाँ फोन ल्याउन पाइनेछ। त्यस्तै, विदेशबाट काम गरेर वा यात्रामा आउने व्यक्तिले एक लिटरसम्मको मदिरा भन्सार नतिरी ल्याउन पाउनेछन्।
तर यसरी भन्सार छुट सुविधा दिइएर ल्याइने मोबाइल, रक्सी वा अन्य सामानको व्यवसायिक बिक्रीमा प्रतिबन्ध लगाइएको छ। भन्सारका अनुसार यो सुविधा अन्तर्गत ल्याइएका सामानमा विशेष स्ट्याम्प लगाइनेछ, जसमा ुयो व्यवसायिक रूपमा खरिद(बिक्री गर्न पाइने छैनु भनेर लेखिएको हुनेछ। त्यस्ता सामानको दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो। यदि कसैले यस्तो सामान खरिद(बिक्री गरेको पाइएमा, उक्त सामान जफत गर्न सकिने प्रावधान राखिएको छ।
झिटिगुन्टा सम्बन्धी नियम
झिटिगुन्टामा ल्याइएको सामानको मुल्याङ्कनमा पनि परिवर्तन भएको छ। पहिले मुल्याङ्कन नगरी घोषणा अनुसार नै स्वीकार्ने चलन थियो। अब भने यदि कसैले ५०० डलर पर्ने सामानलाई २०० डलर भनेर घोषणा गर्छ भने, सन्दर्भ मूल्यसूची वा सोही सामान अरू कसैले ल्याएको मूल्यका आधारमा वास्तविक मूल्य जस्तै ५०० डलर अनुसार मूल्याङ्कन गरिनेछ।

साथै, यदि फरक मूल्य घोषणा गरियो भने पहिलेजस्तो सजाय नहुने अवस्था हटाइएको छ। अब फरक घोषणा गरेमा जरिवाना लाग्नेछ। विदेशबाट आफन्तलाई पठाइने सामान तथा उपहारको लागि अधिकतम ५०० डलरसम्मको सीमा निर्धारण गरिएको छ।

यदि यो सीमाभन्दा बढी मूल्यको सामान पठाइएमा, बढी मूल्य भएको भागमा जरिवाना लाग्नेछ। उदाहरणका लागि, ८०० डलर बराबरको सामान पठाइएमा, ३०० डलर बराबरको सामानमा जरिवाना लाग्नेछ। त्यस्तै, लत्ता कपडा, जुत्ता, कष्मेटिक लगायत यस्तै प्रकारका वस्तु एउटै प्रकृतिका अधिकतम पाँचवटा वा पाँच जोर मात्र पठाउन पाइने व्यवस्था गरिएको छ।

भन्सारका अधिकारीहरूका अनुसार, केही समयअगाडि उपहार भन्दै २८० जोर स्पोर्टी मोजा पठाइएको थियो, जुन व्यवहारमा व्यवसायिक प्रयोजनका लागि थियो। अब नयाँ नियमले यस्तो प्रवृत्तिमा रोक लाग्ने अपेक्षा गरिएको छ।
उपहारका रूपमा पुराना सामान पठाउन नपाइने
विदेशबाट आफन्तलाई पुरानो सामान उपहार पठाउन नपाइने व्यवस्था गरिएको छ। भन्सारका अनुसार पहिले पुराना सामानको आवरणमा नयाँ सामान घुसाउने र त्यसलाई व्यवसायिक रूपमा प्रयोग गर्ने प्रचलन बढेको थियो।

यस्तो दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो। हालको कानुनअनुसार दैवी प्रकोपको अवस्थामा मात्र सरकारले स्वीकृति दिएर पुराना लत्ताकपडा वा अन्य सामान ल्याउन सकिनेछ।

भन्सार अधिकारीहरूका अनुसार अब कुनै पनि पुरानो सामानको जाँचपास गरिने छैन। यदि पुरानो सामान ल्याइएको पाइयो भने त्यो एयरपोर्टमै रोक्न सकिनेछ। त्यस्तो सामानलाई नयाँ भनेर घोषणा गरेमा, त्यसमा नयाँ सामानकै मूल्य कायम गरिनेछ।
विदेशमा बसेर नेपाल फर्कनेहरूका लागि
विदेशबाट स्थायी बस्नका लागि फर्किने नेपालीहरूलाई आफैले प्रयोग गरेका जतिसुकै व्यक्तिगत सामानमा भन्सार नलाग्ने सुविधा दिइएको छ। यस्ता सामग्रीहरूमा शुल्क लाग्ने छैन, तर यो सुविधा पाउन श्रम स्वीकृतिसहित विदेश गएको र फर्किएको प्रमाण पेस गर्नुपर्नेछ।

साथै, उक्त व्यक्ति आफै उपस्थित हुनुपर्नेछ। यी नियमहरूले झिटिगुन्टा प्रणालीको दुरुपयोग रोक्न, उपहारको नाममा हुने व्यवसायिक कारोबार नियन्त्रण गर्न र कानुनी स्पष्टता दिन मद्दत पुर्‍याउने दाबी गरिएको छ।

सम्बन्धित

Comments are closed.