महेन्द्रनगर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बेलुका बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६१।१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ । यो गत बर्ष झण्डै ९ प्रतिशत बढि हो ।
नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी थिए । नियमित तर्फ ११ र आँशिक तर्फ ६ गरी १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको संख्या नियमित तर्फ दुई लाख ४२ हजार चार सय ६५ र आँशिक तर्फ ४१ हजार आठ सय ४० गरी दुई लाख ८४ हजार तीन सय पाँच विद्यार्थी ग्रेडेड भएका छन् ।
जस अनुसार नियमित तर्फ ६१ दशमलब १७ र आँशिक तर्फ ३६ दशमलब ४९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।यस अघि कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजामा पनि गत बर्ष भन्दा १४ प्रतिशत धेरै विद्यार्थी ग्रेडेड भएका थिए ।
नेपाल शिक्षक महासंघले गरेको शैक्षिक हड्ताल सहितको काठमाडौं केन्द्रित सडक प्रदर्शनका कारण बैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछि २१ गतेबाट शुरु भएको थियो । जेठ २ गते सम्म चलेको परीक्षामा पाँच लाख १० हजार नौ सय ८७ परीक्षार्थी सहभागी भएका बोर्डले जनाएको छ ।
यस बर्षको परीक्षाका लागि बोर्डले तयार पारेको क्यालेण्डरमा साउन १५ गते भित्र नतिजा सार्वजनिक गर्ने उल्लेख थियो । गत चैत २० गते देखि शुरु शिक्षकको २९ दिने सडक प्रदर्शनका कारण परीक्षा नै पछि धकेलिएका पछि नतिजा पनि ढिलो सार्वजनिक हुने आकँलन गरिएको थियो ।
शिक्षक प्रदर्शनका कारण १० दिन पछि परीक्षा भए पनि नतिजा भने पोहोर भन्दा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरिएको छ । गत बर्ष साउन १८ गते सार्वजनिक कक्षा १२ को नतिजामा ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
प्रत्येक विषयमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडेड हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ मा व्यवस्था गरेको छ ।
Comments are closed.