स्वर्गीय नाती सशान्तको जन्मदिनमा अनाथालय र वृद्धाश्रममा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ निवासी पूर्णबहादुर सिनालका स्वर्गीय नाती २० वर्षीय सशान्त सिनालको जन्मदिनको अवसर पारेर अनाथालय र वृद्धाश्रममा सहयोग सामग्री वितरण गरिएको छ।सशान्तको जन्मदिनको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका १३ जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको हो। त्यसैगरी वेदकोट नगरपालिका–७ मा रहेको बैजनाथ धाम तथा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाना तथा फलफूल सहयोग गरिएको छ।

२० वर्षीय सशान्त सिनालको गत कार्तिक १० गते असामयिक निधन भएको थियो। कार्तिक १६ गते उनको जन्मदिन परेको अवसरमा परिवारले उनको सम्झनामा सामाजिक सेवामूलक कार्य गर्दै अनाथालय र वृद्धाश्रममा सहयोग गरेको हजुर बुवा पूर्णबहादुर सिनालले जानकारी दिनुभयो।स्वर्गीय सशान्तको इच्छाअनुसार नै जन्मदिनको अवसरमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग गरिएको उहाँका फुपाजु सन्तोषबहादुर सुनामले जानकारी दिनुभयो।

समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष कृष्णानन्द जोशीले स्वर्गीय सशान्त सिनालको जन्मदिनको अवसरमा अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल सहयोग गर्नु सराहनीय कार्य भएको बताउनुभयो।

उहाँले जन्मदिनलाई केवल उत्सवका रूपमा मात्र नभई असहाय, अनाथ तथा विपन्न बालबालिकाको सहयोगमा समर्पित गर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो। साथै, दिवंगत सशान्तको सम्झनामा परिवारले गरेको यस मानवीय कार्यले बालबालिकामा खुसी थप्नुका साथै अन्य व्यक्तिलाई पनि सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

बैजनाथ धाम तथा वृद्धाश्रमका सञ्चालक बहादुर सिंह विष्टले स्वर्गीय सशान्त सिनालको जन्मदिनको अवसरमा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाना तथा फलफूल सहयोग गर्नु मानवीय सेवाको उदाहरण भएको बताउनुभयो। उहाँले जन्मदिनजस्तो विशेष अवसरमा अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई सम्झेर सहयोग गर्नुले समाजमा आपसी सद्भाव, करुणा र सेवाभावको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

साथै, स्वर्गीय सशान्तको सम्झनामा परिवारले गरेको यस कार्यले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई खुसी प्रदान गर्नुका साथै अन्य व्यक्तिहरूलाई पनि असहाय तथा ज्येष्ठ नागरिकको सेवामा प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। जन्मदिनमा गरिने उत्सव तथा खुसीयालीलाई सामाजिक सेवासँग जोड्दै स्वर्गीय सशान्तको सम्झनामा गरिएको यस कार्यले अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई सहयोग पुग्नुका साथै दिवंगत व्यक्तिको सम्झनालाई सेवामार्फत जीवन्त राख्ने प्रयास गरिएको छ।

सम्बन्धित

Comments are closed.