बाके जिल्लाको जानकी गाउपालिका ३ नहरपुर्वा स्थित निर्माण हुन लागेको सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शहरी विकास मन्त्री मेटमणी चौधरीले एक कार्यक्रमका वीच बिहिबार शिलान्याश गरेका छन् । शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिकलसेल एनिमिया र थाल्सेमिया थारु समुदायका मात्र समस्या नभएको बताए । उनले सिकलसेल अधिकांश थारु समुदायमा देखिए पनि अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको बताए ।
भवनको शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सिकलसेल अस्पताललाई मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रुपमा विकास गरिनु पर्ने धारणा राखे । ‘अहिले थारु समुदायमा मात्र सिकलसेल देखिएको छ । सिकलिङ गर्ने हो भने अन्य समुदायमा पनि देखिन सक्छ,’ उनले भने, ‘यो अस्पताललाई सिकलसेलको उपचार गर्ने अस्पतालको रुपमा मात्र विकास गर्न हुदैन । सिकलसेलका विरामीलाई विशेष सेवा दिए पनि अन्य रोगको समेत उपचार गर्ने थलोको रुपमा विकास गर्न जरुरी छ ।’
उनले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘भवन निर्माण गर्ने ठूलो कुरा होइन । यसलाई दीर्घकालिन रुपमा संचालन गर्ने महत्वपूर्ण हो । भवन निर्माण मेरो मन्त्रालयले गर्ने छ । अन्य ब्यवस्थापन कसरी गर्ने हो त्यसको ब्यवस्था तपाईहरुले मिलाउनु होला ।’
उनले थारु समुदायका लागि सिकलसेल अस्पताल महत्वपूर्ण भएको बताउदै यसको दायित्व सरकारले लिनु पर्ने जिकिर गरे । ‘सिकलसेल एउटा समुदाय विशेषको मात्र समस्या होइन ।
यो अस्पतालको जवाफ देहिता सरकारले बहन गर्नु पर्छ,’ उनले भने । उनले एकल प्रयासमा कुनै पनि काम सफल नहुने भएकोले सिकलसेल अस्पताल निर्माण तथा संचालन गर्न सहकार्यको आवश्यकता औँल्याए । उनले एउटा दलको प्रयासले मात्र देश विकास सम्भव नभएको पाँच दलिय र सात दलिय गठबन्धनको अवधारणा आएको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन वीचको सहकार्य र एकताले मात्र विकास सम्भव छ,’ मन्त्री चौधरीले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सिकलसेल अस्पताल निर्माण तथा संचालनका लागि उपमहानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । अस्पतालले सवै विरामीको उपचार गर्ने भएकोले अन्य पालिका संग समन्वय गरि रकमको ब्यवस्था गर्न सहयोग गर्ने आश्वासन दिए ।
थारु समुदायको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष एवम् सिकलसेल सामुदायिक अस्पतालका अध्यक्ष जिवराज चौधरीले भेरी अस्पतालले सिकलसेलका विरामीको उपचार गर्दै आए पनि उचित ब्यवस्थापन नहुदा विरामीले दुख पाएको बताए । उनले पश्चिम नेपालका करिव एक लाख थारुलाई सिकलसेल भएको अनुमान लगाए । ‘सिकलिङक र सचेतनाको कमीले अधिकांश विरामी घरमै छट्पटाइ रहेको अवस्था छ । उपचारका लागि अस्पताल आउने विरामीले पनि सहज रुपमा उपचार नपाएको अवस्था छ,’ उनले भने ।
सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याको रुपमा दर्ज गराएका भेरी अस्पतालका मेडिकल विभाग प्रमुख समेत रहेका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई सम्मान गर्ने कार्यक्रम रहे पनि उनी अनुपस्थित भए । भवन शिलान्याश कार्यक्रममा डा. सुरेन्द्र चौधरीले सिकलसेल र यसले पार्ने प्रभाव तथा न्यूनिकरणका उपाय बारे प्रष्ट्याएका थिए ।
Comments are closed.