नेपालद्धारा आयोजक थाईल्यान्ड नौ विकेटले पराजित

एशिया ईस्टर्न रीजन टी२० क्रिकेटमा नेपालले आयोजक थाईल्यान्डलाई नौ विकेटले पराजित गरेको छ। तियोगितामा मलेशिया र हङ्‍कङसँग हारेको नेपालको यो पहिलो विजय हो। करण केसीले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको आयोजक थाईल्यान्ड ६६ रनमा सीमित भएको थियो ।

नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर विजय लक्ष्य प्राप्त गरेको थियो। नेपालका लागि नटआउट रहेका कुशल मल्लले १८ बलमा ३६ र पवन सर्राफले १० बलमा २७ रन बनाए। पारस खड्का नौ रनमा आउट भए।

नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ।

थाईल्यान्डको कमजोर ब्याटिङ

थाईल्यान्डलाई कम स्कोरमा सीमित पार्न केसीले तीन र अविनाश बोहराले दुई विकेट लिए। सन्दीप लामिछाने र भुवन कार्कीले एक-एक विकेट लिए। थाईल्यान्डका तीन खेलाडी रन आउट भएका थिए।

नेपालले कुल १२० बल फ्यालेकोमा थाईल्यान्डले ९० बलमा कुनै रन बनाउन सकेको थिएन। चार ओभर बलिङ गरेका लामिछानेले २२ बलमा कुनै रन दिएनन्। थाईल्यान्डका लागि हेनो जोर्डनले मात्रै दुई अङ्कको रन बनाउन सके। उनले १३ रन बनाएका थिए।

एशिया कपको छनोट प्रतियोगिता

प्रतियोगितामा सिङ्गापुर पनि समावेश छ ।सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछन्।

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनोट हुनेछ। एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।

सम्बन्धित

Comments are closed.