३ जना बिनाविभागीय मन्त्रीका रूपमा शपथ

महेन्द्रनगर । नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा ३ जना बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ बन्धन भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । ४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।

त्यतिबेला एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियूमा संगठित हुदैं उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुदैं सभापति समेत चुनिएका थिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् ।

२०७४ सालको निर्वाचनमा पनि उनी पर्वत–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेको तर्फबाट संसद्मा प्रमुख सचेतको भुमिका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए ।

६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियूका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ सालमा केन्द्रीय सदस्य बनें ।

शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । ४९ वर्षीय धादिङवासी अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए ।

पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापना कालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहयात्री भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए ।

वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट हटेका थिए । कान्तिपुरबाट साभार

सम्बन्धित

Leave A Reply

Your email address will not be published.