महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको समृद्धि र विकासका लागि ठुला दुई दल मिल्न जरुरी रहेको बताउनु भएको छ । समुदायमा काँग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको विकास गर्न काँग्रेस र एमालेबिच सहकार्य आवश्यक रहेको बताउनु भएको हो ।
त्यसै क्रममा, के एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कसरतमा नेपाली काँग्रेस केन्द्रित भएको हो भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले सरकार गठनका लागि नभई देशको महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न काँग्रेस र एमालेका बिच सहकार्य आवश्यक रहेको प्रस्ट्याउनु भयो ।
अहिलेको सरकारलाई एक वर्षसम्म नचलाउने योजनामा काँग्रेस रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने कुरा निराधार हल्ला मात्रै रहेको काँग्रेस महामन्त्री थापाले बताउनु भयो । नेपाली काँग्रेसले कुनै व्यक्ति विशेषका सन्दर्भमा नभई सहकारी सम्बन्धी समस्याको समाधानका लागि संसदीय छानबिन समितिको माग गरेको उहाँको भनाइ छ ।
नेपाली काँग्रेसले पूर्वबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’ आज कञ्चनपुर पुगेर सकिएको छ । त्यस क्रममा समुदायबाट प्राप्त विवरण र नागरिकका सुझाव तथा गुनासाहरूप्रति पार्टी र सरकारको ध्यानाकर्षण गराउने महामन्त्री थापाले बताउनु भएको छ ।