रोल्पामा यात्रुसहितको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

महेन्द्रनगर । रोल्पामा सोमबार बेलुकी यात्रुसहितको जिप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत मध्य रातिसम्म प्रहरीले गरेको छ । मृत्यु हुनेहरूमा माडी गाउँपालिका–३ ७७ वर्षका खडकबहादुर डाँगी, वर्ष ३० की अमृता घर्तीमगर, उनकी छोरी १८ महिनाकी नाम नखुलेकी बालिका, ३३ वर्षकी जुनुमाया खड्का, परिवर्तन गाउँपालिका–राङ्सीकी ३२ वर्षकी रामकली पुन, माडी–३ का ७० वर्षका झुपलाल डाँगी, माडी–३ कै धनठानाकी ५० वर्षकी कर्मा घर्तीमगर छन् ।

झुपलाल र खडकबहादुर दाजुभाई हुन् । अमृता र उनकी १८ महिनाकी छोरीको पनि मृत्यु भएको छ । मृतक जुनुमायाका ३ वर्षका बालक हिटलर गम्भीर घाइते छन् । दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई रोल्पा अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज भएकामा माडी–३ की ४० वर्षकी दिलकुमारी घर्तीमगर हुन् ।

उनको दाँहिने खुट्टामा चोट लागेको छ भने सामान्य अवस्था छ । यस्तै दुर्घटनामा घाइते भएका माडी–३ का ३७ वर्षका खगेन्द्र बाँठालाई अस्पतालमा चिकित्सकको निरीक्षणमा उपचार जारी राखिएको छ । रोल्पा जलजला यातायात प्रालिको लु १ ज ३२५२ नम्बरको जिप दुर्घटनापछि पूर्ण रुपमा क्षतविक्षत अवस्थामा छ ।

गम्भीर घाइते भएका ६ जनालाई नै बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएकाहरूमा जिपका चालक परिवर्तन–६ का ४५ वर्षका दीपक थापा, माडी–२ का ३ वर्षका बालक हिटलर खड्का, माडी–३ की ६० की कर्म बुढा मगर, ४२ वर्षकी बरमाली घर्तीमगर, १३ वर्षकी प्रतिभा बुढामगर र गंगादेव–७ का ५२ वर्षका नैनसिंह पुनमगर छन् ।

उनीहरूलाई सोमबार राति नै बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.