महेन्द्रनगर । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ अन्तिमयताको विवरणअनुसार बाढी, पहिरोबाट ४८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सहित ४८ जनाको मृत्यु भएको हो ।
बाढी र पहिरोमा परेर काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ सहित ५४ जना घाइते भएका छन् ।
बाढी–पहिरोमा परेकामध्ये कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी–पहिरोबाट कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् ।
बाढीका कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
बाढी पहिरोको जोखिमका जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।