चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार छैन : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ । चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।

संयुक्त राज्य अमेरिकामा मात्रै गएको २४ घण्टामा २७ सयभन्दा धेरैको ज्यान गएको छ । योसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ४५ हजार नाघेको छ भने आठ लाख १७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.