महेन्द्रनगर । बुधवार करिब चार महिनापछि नागरिक उन्मुक्ति पार्टीका सबै सांसद सत्ता पक्षको बेन्चमा बसे । त्यसअघि दीर्घ सोडारी नेतृत्वको सरकारमा २ सांसद सत्ता पक्षको बेन्चमा बस्दा ५ सांसद प्रतिपक्षको बेन्चमा बसिरहेका देखिन्थे ।
सोडारी नेतृत्वको सरकारमा रन्जिता पक्षमा कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका थिए । त्यसबाहेक घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी प्रतिपक्षमा बस्दै आइरहेका थिए ।
नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। सोही अनुसार चैत्र २२ गते विश्वासको मत लिन मुख्यमन्त्री कमलबहादुर शाहले तयारी गरेका थिए ।
तर, उनलाई नाउपाका रेशम पक्षमा ५ सांसदले समर्थन गर्दा रन्जिता पक्षका २ सांसदले समर्थन गरेनन् । नाउपा विभाजित हुँदा राजीनामा दिएका शाह दोस्रो पटक मुख्यमन्त्री भएर विश्वासको मत लिँदा भने नाउपाका सबै सांसदहरू सँगै उभिए । जेठ ३ गते तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदा नाउपाका २ जनाले पक्षमा मतदान गरेका थिए भने ५ जनाले संसद् बहिस्कार गरेर निस्किएका थिए ।
शाह नेतृत्वको सरकारमाको अन्तिम समयबाट विभाजित देखिएको नाउपा शाह नेतृत्वको सरकारले विश्वासको मत पाउँदा भने एकीकृत देखिएको छ । बुधवार यहाँका ७ जना सांसद सत्ता पक्षमा मात्रै बसेनन् उनीहरूले पक्षमा मतदान समेत गरे ।
अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबिच शक्ति सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ दुवै पक्षमा दलका नेता फरक फरक थिए। रन्जिता पक्षले कैलाश चौधरीलाई र रेशम पक्षले घनश्याम चौधरीलाई दलको नेता बनाएका थिए ।