महेन्द्रनगर । उपचार नपाएर भारत, नेपालगञ्ज, धनगढी जानेको संख्या घटेको छ । विगतमा ठुला स्वास्थ्य समस्या भएकाहरुको उपचारका लागी बाहिर जानु पर्ने बाध्यता छदै थियो, साना साना स्वास्थ्य समस्याका लागी पनि बाहिर जानु पर्ने समस्या थियो, कतिपयले समयमै धनगढी, नेपालगञ्ज जान नपाँउदै बाटोमै आफनो ज्यान गुमाएका थिए ।
तर, अहिले कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरी विशेषज्ञ सेवा प्रदान गरेपछि स्वास्थ्य सेवाका लागी बाहिर जानु पर्ने बाध्यता हटेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टका अनुसार अहिले अस्पतालमा १७ जना विषेशज्ञ डाक्टरहरुले विभिन्न सेवाहरु प्रदान गरिरहेका छन् ।
पछिल्लो समयमा अस्पतालले धेरै उपचारहरु विशेषज्ञ चिकित्सकहरुबाट सस्तो र सुलभमा स्वास्थ्य सेवा प्रदान गरिरहेकोे भएर स्थानियहरु र उपचारमा आउने सबैलाई सहजता भएको छ । अहिले अस्पतालमा मनोचिकित्सक (मानसिक रोग विशेषज्ञ ) एमडी साईक्याट्रिक्स्ट डा. सन्ध्या सुवेदी बाट मानसिक रोग सम्बन्धी थप सेवा सुचारु भएको छ ।
दैनिक रुपमा अहिले आफनो मानसिक समस्या लिएर उपचारको लागी विरामीहरु आउने गरेको डा. सन्ध्या सुवेदीले बताउनु भयो ।उहाँले टाउको दुख्ने, डराउने, मन आत्तिने रुन मनलाग्ने एक्लो बस्न मन लाग्ने खालका विरामीहरु बढी आईरहेको बताउनु भयो । यसैगरी, अस्पतालमा अहिले छाला तथा यौन रोग विशेषज्ञ डा. दिपकराज पन्तले सेवा दिईरहनु भएको छ ।
अहिले महाकाली अस्पतालमा छाला सम्बन्धी समस्या लिएर ३० देखी ४० जना आउने गरेको र उहाँहरुमा चिलाउने, छालामा ढुसी, यौन रोगहरु लगायतका समस्याहरु लिएरउपचारमा आउने गरेको बताउनु भयो । विगतका तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनु भयो ।
“हामीले अस्पतालले दिने स्वास्थ्य सेवामा कुनैपनि कमी नहुने गरी सेवा प्रदान गरिरहेका छौं”, उहाँले बताउनु भयो, “अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, जसले गर्दा बिरामीको चाप बढेको छ ।”
महाकाली अस्पतालमा उपचार गर्न आउनु भएका भीमदत्त नगरपालिकाका व्यवसायी तथा उधोग वाणिज्य संघका कोषाध्यक्ष चेतराज जोशीले दिनप्रतिदिन स्वास्थ्य सेवामा सुधार भईरहेको र विशेषज्ञहरुले स्वास्थ्यमा दिईरहेको सेवाले गर्दा सबैलाई सस्तो सहजर सुलभमा उपचार पाएको बताउनु भयो ।
उहाँले विगतको तुलनामा अहिले धेरै सुधार भएको छ तर उपकरणहरु ल्याउन जरुरी रहेको बताउनु भयो ।