महेन्द्रनगर । । बैतडीमा महाकाली नदीमा खसेर एक युवक वेपत्ता भएका छन् । दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चौडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेका थिए ।झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए ।
नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ । धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।
नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ तर उनको अवस्था अहिलेसम्म अज्ञात छ । भारतमा रोजगारी गर्दै आएका धामी दसैं मनाउन घर फर्किरहेका थिए ।