महेन्द्रनगर । नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै गर्दा यात्रुहरुको सुरक्षालाई ध्यान राखी कार्यहरु गरिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले अहिले विभिन्न स्थानमा यात्रु सहायता कक्षको निर्माण गरेको छ । कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकी, गुलरीया, डोकेबजार र बेलौरी, गरी ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनु भयोे । अहिले भारतबाट र तराईबाट आफनो गृह जिल्ला जाने यात्रुहरुको चाप बढदै गईरहेको अवस्थामा उहाँहरुको यात्रा सहज सुरक्षित र ठगिनबाट बच्नका लागी यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनु भयो ।
चाडपर्व मनाउनका लागी देश विदविदेशबाट यात्रुहरु आईरहेको अवस्थामा सबैको यात्रालाई सुरक्षित बनाउनका लागी, सुरिक्षत गन्तव्यमा पुय्राउनका लागी आम सर्वसाधारणको यात्रालाई सहज बनाउन यो कक्षको स्थापना गर्ने मुख्य लक्ष्य रहेको बताउनु भयो । साथै, गुनासो सुन्न तथा सडक सुरक्षा लगायतका विषयमा सेवा दिने उद्देश्येले चालक, सहचालक, सवारी धनी, यातायात व्यवसायी यात्रु तथा सर्वसाधारणहरुको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक पचभैयाले बताउनु भयो ।
यस्तै, महेन्द्रनगरको बसपार्कमा भेटिएका बाजुराका हर्के लुहारले अहिले सवारी साधनले मनपरी भाडाहरु असुल्ने, सामानहरुको पनि पैसा लिने, बढी यात्रुहरु बोक्ने गरेको बताउनु भयो । यस्ता यात्रु सहायता कक्षले यात्रुहरुको पिरमर्का बुझनु पर्ने, सवारी साधनलाई नियमित रुपमा अनुगमन गरी कैफियत भए जरिवाना गरिनु पर्ने बताउनु भयो । उहाँले बसपार्कमा आयो भने सवारी कर्मचारीहरुले तानेर लैजाने, झोला खोस्ने पनि गर्ने गरेको भएर यस्ता कार्यहरु पनि रोक्न जरुरी रहेको बताउनु भयो ।