महेन्द्रनगर । हाल काठमाण्डौं–धनगढी दैनिक ७ वटा उडान हुँदै आएको छ।श्री एयरलाइन्सले चार र बुद्ध एयरलाइन्सले दैनिक ३ वटा उडान काठमाण्डौ–धनगढी र धनगढी–काठमाण्डौं भर्दै आएका छन्। तर धनगढी–काठमाण्डौं भन्दा काठमाण्डौं–धनगढीको भाडा निकै महंगो छ।
निजी विमान कम्पनीले दशैंका लागि अफर फेयर नै हटाएपछि काठमाण्डौं–धनगढीको हवाई टिकट १३ हजार तीन सयदेखि १७ हजार १० रुपैयाँसम्म भाडा लिइरहेको पाइएको छ।दशैं अगाडीसम्मको न्युनम भाडा ७ हजार ९ सय सम्म थियो। वर्षेनी दशैंमा आन्तरिक वायुसेवा कम्पनीले सस्तो टिकेट बिक्री नगर्ने र मध्यमदर हुँदै उच्च दरका टिकट मात्रै बिक्री गर्ने गरेका कारण दशैका बेला सस्तो टिकेट पाउन मुश्किल हुने गरेको छ।
हवाई टिकेट दशैंको लागि माग बढ्ने हुँदा वायुसेवा कम्पनीले सोही अनुसार भाडा पनि बढाउने गरेका छन्।अन्य समयमा सस्तो टिकट बेच्ने वायुसेवा कम्पनीहरु दशैंका लागि सस्ता हवाई टिकट बन्द गरेर महँगो मात्रै बिक्री गर्ने गरेको पाइएको छ। दशैंको घटस्थापना सुरु हुन ७ दिनमात्रै छ।
दशैं लागेसँगै काठमाडौं–धनगढी आउने यात्रुको चाप बढ्ने हुँदा यही समयमा वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाउने गरेका छन्।