महेन्द्रनगर । बैतडीमा पासोमा परेको चितुवा पासो तोडेर भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोलाको खालमा स्थानीयहरुले स्यालका लागि थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको थियो ।
पासोमा परेको उक्त चितुवा शनिबार दिउँसो २ बजेतिर पासो तोडेर भागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।
स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि स्थानीयले स्यालका लागि पासो थापेका थिए । उक्त पासोमा शुक्रबार राति १२ बजे परेको चितुवा झण्डै १४ घण्टापछि पासो चुँडालेर भागेको हो ।चितुवाको बाँया खुट्टा पासोमा परेको थियो ।
चितुवा भागेपछि चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गइरहेको प्राविधिकहरुको टोली बाटोबाटै फर्किएको छ । चितुवा घाइते अवस्थामा रहेकाले सतकर्ता अपनाउन प्रहरीले आग्रह गरेको छ ।