महेन्द्रनगर । अहिले चाडपर्व नजिकिदै जाँदा सुरक्षालाई पनि मध्य नजर गर्दै प्रहरीले विशेष सुरक्षा संयन्त्र निर्माण गरिरहेको छ । प्रदेशका नौवटै जिल्लामा दशै, तिहार र छठको समयमा थप चार हजार प्रहरी परिचालन गरिने भएको छ।
सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिने भएको हो। यसका लागि प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले नागरिकको सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए।
उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ। जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ। कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ। बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ।’
दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ। प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ।
नौवटा जिल्लास्तरको कमाण्ड पोस्टमा ९९ जना प्रहरी, रिजभमा २०६ जना, एक सय ६० जना स्ट्राइफिङमा, पाँच सय ५३ वटा पिकेटहरु, पैदल गस्ती र मोबाइल गस्तीमा पाँच सय ९९ जना, मोबाइल गस्तीमा २५० जना, सादापोसाक, सीमा नाकाका चेकपोस्टमा दुई सय ६५ जना, राजमार्ग चेकिङ्, जुवातास, मदिरा र लागुऔषध नियन्त्रणमा २५० जना, राजमार्गमा स्टटिङ्गका लागि २५० जना नियमित चेकजाँचका लागि यथावत छन्।