महेन्द्रनगर । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन निर्माण गर्न सभामुखसहित दुई मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बुधवार ज्ञापनपत्र बुझाएको हो।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे आगो, सह–संयोजक आनन्द प्रसाद भट्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्य लछिराम आचार्यसहितको टोलीले सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटराई र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाइएको हो।
समितिका सह–संयोजक भट्टले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन चाँडो निर्माणको दबाबका लागि ज्ञापन पत्र बुझाइएको बताए। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक रहेको बताएका छन्।
सभामुख घिमिरेले समितिबाट प्रतिनिधि सभामा विधेयक चाँडो ल्याउन निर्देशन दिएको सङ्घर्ष समितिसँग बताएका छन्। प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट कैलालीको गेटामा नेपालकै पहिलो पटक चिकित्सक शिक्षाको विश्व विद्यालय सञ्चालन गर्न ऐन तयार हुने उनले बताएका समितिका सह–संयोजक भट्टले दिनेशखबरलाई बताएका छन्।
सङ्घीय मन्त्रीपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन हुन नदिने देश तथा विदेशबाट चलखेल हुँदै आएको माओवादी केन्द्रका केन्द्रीय सदस्य लछिराम आचार्यले बताए।
उनले सो विषयमा समेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटराई र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गरिएको बताए।