महेन्द्रनगर । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ ।
उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । सरकारले उपनिर्वाचनका लागि छुट्ट्याएको बजेट अपुग भएको आयुक्त भण्डारीले बताए ।
उनले भने, ‘निर्वाचनका लागि झण्डै २० करोड खर्च हुने अनुमान भए पनि सरकारले १२ करोडमात्र दिएको छ । आयोगले ८ करोड बजेट थप गर्न आग्रह गरेको छ । अपुग भएको बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेका छौँ ।’
निर्वाचनमा कर्मचारी खटाउन, आवश्यक केही सामग्री किन्न, मतगणना लगायतका काममा मुख्य निर्वाचनकै जसरी खर्च हुने आयुक्त भण्डारीको भनाइ छ । नगरप्रमुख, गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षसम्म रिक्त रहेका ४३ पदका लागि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्नेछ । यसका लागि निर्वाचन व्यवस्थापनको काम गरिरहेको निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए ।
Comments are closed.