महेन्द्रनगर । दार्चुलाको अतिक्रमित भूमिमा चिनियाँ गतिविधि बढेपछि भारत हवाई गस्ती गर्न थालेको छ। भारतद्वारा अतिक्रमित भूमी कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको भूभागमा विगत लामो समयदेखि भारतले सैन्य संरचनाहरु निर्माणसँगै विकास निर्माणका कामहरु गर्दै आएको थियो। उक्त क्षेत्रमा नेपाली सुरक्षाकर्मी एवं स्थानियबासीलाई पनि आवतजावत गर्न निषेध गरिएको छ।
यस्तै असोज २१ गतेदेखि चीनसँगको सीमाना १ नम्बर पिल्लरसम्म चिनियाँ सुरक्षाकर्मीहरुले हप्ताको एकपटक पैदल गस्ति गरिरहेका छन्। चिनियाँ सुरक्षाकर्मीहरुले त्रिदेशिय सीमा क्षेत्रमा गतिविधि बढाएसँगै भारतीय सुरक्षाकर्मीहरुले कात्तिक ८ गते भारतीय सेनाका दुई वटा चिता हेलिकप्टरमार्फत हवाई गस्ती गरेका छन्।
९ गते हेलिकप्टरद्वारा हवाई गस्ती गरी फिर्ता भएका भारतीय सुरक्षाकर्मीहरुले उक्त त्रिदेशिय सीमा क्षेत्रमा हेलिकप्टरमार्फत मासिक रुपमा हवाई गस्ती गर्ने बताएको थियो। तर, चिनियाँ सैनिकले सीमामा गतिविधि बढाएसँगै भारतीय सैनिकले आजदेखि दैनिक रुपमा हवाई गस्ती गर्ने बुझिएको छ।
दार्चुलाको ब्याँस गाउपालिका– १ सँग सीमा जोडिएको भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय अर्धसैनिक बल एसएसबी र आइटिबिपीले सो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको नाममा रहेको जग्गामा तार बार लगाइहेको थियो।
कात्तिक ११ गते भाजपा जनजाती मोर्चाका जिल्ला अध्यक्ष योगेशसिंह गर्ज्याल, कल्याण संस्थाका महासचिव दिनेशसिंह चालाल लगायतको समूहले पिथौरागढ़ जिल्ला धारचुला तहशीलका एसडिएम मन्जित सिंहलाई ज्ञापन पत्र बुझाएका थिए।
स्थानीयहरुको सहमतिविना भारतीय अर्ध सैनिक बलले तारजाली लगाइरहेकोले प्रशासनले उक्त कार्य नरोकेमामा स्थानियहरुले आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएका छन्।
Comments are closed.