सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

महेन्द्रनगर । कैलाली र बैतडीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कैलालीमा १७ महिनाको बालकलाई उपचार गर्न लिएर आएका एक युवक अस्पतालको शौचालयमा मृत फेला परेका छन् ।

धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा उनी मृत भेटिएका थिए १७ महिनाका भतिजा दिभान रानालाई उपचार गर्न आएका र आफै कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

शौचालय गएका युवक धेरै बेरसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यसैगरी, कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।

बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् । उता, बैतडीमा बाख्रा चराउन गएका एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–६ रोसेरागाउँका ७२ वर्षीय हरिदत्त जोशीको बुधबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार हिजो दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएका जोशी भिरबाट डेढ सय मिटर तल खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

सम्बन्धित

Comments are closed.