महेन्द्रनगर । नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरका आरक्षविस्थापितको समस्या समाधान गर्न पुनः नापी गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
प्रतिनिधिसभाको पाँचौं अधिवेशन अन्तर्गत शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा बोल्दै सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो ।
उहाँले सरकारलाई प्रतिवेदन अबिलम्ब कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ । सांसद साउदका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७, ९ र १० मा आरक्ष विस्तारका लागि जंगल फडानी गरी आरक्षपीडित र सुकुम्बासीलाई बसोबास गराइएको थियो ।
हाल ती तीन वडामा गरी झण्डै १,२०० घरपरिवार रहेको उहाँले जानकारी दिनु भयो ।उहाँका अनुसार पहिले गरिएको कित्ताकाट प्रक्रियामा स्थलगत निरीक्षण नगरी गरिएका नापीका कारण फिल्डमा रहेको स्वामित्व र लालपुर्जामा उल्लेखित स्वामित्वमा फरक देखिएको थियो ।
यसले गर्दा बिक्री(वितरण तथा स्वामित्वको विषयमा गम्भीर विवाद उत्पन्न भएपछि नेपाल सरकारले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दुई पटक समस्या समाधान समिति गठन गरेको थियो । तर ती समितिहरूले समाधान दिन नसकेपछि हालै मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो ।
सो समितिले विस्तृत नापजाँच तथा फिल्ड निरीक्षणपछि सर्वसम्मत प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै सांसद साउदले सरकारले तत्काल सो प्रतिवेदन कार्यान्वयन गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।
Comments are closed.