महेन्द्रनगर । कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवम् मूल मानवीय मापदण्ड सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा होटल स्वीट ड्रिममा विभिन्न राजनीतिक दलका भातृ संगठनका युवा प्रतिनिधिहरूलाई विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित आधारभूत मानवीय सहायता मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको हो
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए )का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा राजनीतिक दलका युवाहरूको सक्रियता र जिम्मेवारी महत्त्वपूर्ण रहने बताउनुभयो। उहाँले विपद् पूर्वानुमान तथा प्रतिकार्यका लागि समन्वय, स्रोत संकलन र जनपरिचालनमा राजनीतिक दलका भातृ संगठनका युवाहरू सशक्त हुनुपर्नेमा जोड दिनुभयो।
कार्यकारी निर्देशक जैरूले विपद्को समयमा जनताको सहायतामा सक्रिय भूमिका खेल्नका लागि सामाजिक उत्तरदायित्वको भावना जागरूक हुनुपर्ने बताउनुभयो। भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपद्को समयमा मानिसहरूको ज्यान र सम्पत्ति जोगाउनका लागि सबै समुदाय र राजनीतिक दलका युवाहरूको आपसी सहयोगको आवश्यकता रहने बताउनुभयो।
उहाँले राजनीतिक दलका सिद्धान्थ र विचारधारा फरक भएपनि विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि सबै राजनीतिक दलहरू एकजुटता हुनुपर्ने धारणा राख्नुभयो। नगरप्रमुख बोगटीले स्थानीय तहहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्ने तर्क गर्नुभयो।
कार्यक्रममा उपस्थित राजनीतिक दलका भातृ संगठनका युवाहरूले विपद् पूर्वानुमान तथा प्रतिकार्य साथै राहत र पुनर्निर्माण कार्यमा संलग्न हुनका लागि आवश्यक ज्ञान र सीप प्राप्त गर्ने अवसर पाएको बताएका छन्। उनिहरूले यो अभिमुखीकरणले भविष्यमा विपद्को अवस्थामा प्रभावकारी कदम चाल्नमा मद्दत पुग्ने अपेक्षा गरेका छन्।
कार्यक्रममा एनएनएसडब्ल्यूएका संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापन बिनोद बिक्रम जैरू, सुदृढ परियोजना संयोजक राजकुमार सुनार, पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आधारभूत मानवीय सहायता मापदण्ड र पूर्वसूचना तथा पूर्वप्रतिकार्यमा युवाहरूको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो।
त्यस्तै भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सबिन रावलले विपद् जोखिम न्यूनीकरणमा भीमदत्त नगरपालिकाले गरेको प्रयासबारे प्रस्तुती दिनुभएको थियो।
Comments are closed.