कृष्णपुर २ मा चार दिन देखि सडकबाटै वडा कार्यालय सञ्चालन

महेन्द्नगर । ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ५ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन गरेका छन । ठेकेदारलाई पटक–पटक आग्रह गर्दा पनि काम नगरेपछि वडा नम्बर २ का अध्यक्ष अर्जुन साउँदले सडकमै कार्यालय राखेर विरोधको नयाँ शैली अपनाएका हुन ।

वडाध्यक्ष साउँदले फागुन १८ गते देखि कार्यान्वयन निकाय पूर्वाधार विकास कार्यालय कञ्चनपुर र ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय राखेर विरोध जनाएका थिए । तर, सडकमा वडा कार्यालय राखेको ४ दिन बितिसक्दा पनि ठेकेदारले भने अझै काम गर्ने छाटकाट देखाएका छैनन् । वडाध्यक्ष साउँदले ठेकेदारले काम गरेजस्तो गरे पनि भर पर्न सक्ने अवस्था नभएको बताए ।

उनले यसअघि पनि पटक पटक काम गरेजस्तो गरेर बेपत्ता हुने गरेकाले यस पटक जसरी पनि काम सम्पन्न गराउनका लागि दबाब जारी राखेको बताए । कालोपत्रे गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ । जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रेका लागि सडकमा उत्रिनु परेको उनले बताए ।

सुदूरपश्चिम सरकारको गौरवको योजनामा पर्ने बंक–नायल–बुडर सडक निर्माणका लागि २०७७ साउनमा सन्तोषी जेभी थेगिङ सँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ वैशाखमा काम सक्नुपर्ने भए पनि हाल सम्म ३५ प्रतिशत पनि काम पुरा भएको छैन ।

सम्बन्धित

Comments are closed.