महेन्द्रनगर । “सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण“ भन्ने मूल नाराका साथ विश्वभर मनाइएकोे ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस बेदकोट नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै भव्यताका साथ सम्पन्न गरेको छ ।
विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भए संगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्य सहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । वेदकोट नगरपालिकाले पनि विभिन्न कार्यक्रमसहित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी रहनु भएको थियो भने, प्रमुख अतिथीमा नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहराले महिलाहरूको सशक्तीकरणका लागि वेदकोट नगरपालिकाले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले महिलाहरू समाजको मेरुदण्ड भएकाले उनीहरूको हक, अधिकार र अवसर सुनिश्चित गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । महिलाहरूलाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रममार्फत आत्मनिर्भर बनाउन नगरपालिकाले विविध योजनाहरू अगाडि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो।
साथै, लैङ्गिक हिंसा न्यूनीकरण, महिला नेतृत्वको प्रवद्र्धन तथा महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने नीति निर्माण गर्दै नगरपालिकाले दीर्घकालीन योजना बनाइरहेको जानकारी दिनुभयो। नगर प्रमुख बोहराले उपस्थित सम्पूर्ण महिलाहरूलाई शुभकामना व्यक्त गर्दै, समाजको हरेक क्षेत्रमा महिलाहरूको समान सहभागिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम नगर उपप्रमुख तुलसी जोशीले महिलाहरूको हक, अधिकार र समानताका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको बताउँदै, समाजमा महिलाहरूको नेतृत्व र योगदानलाई अझ सशक्त बनाउन स्थानीय सरकार कटिबद्ध रहेको बताउनुभयो ।
उहाँले महिलाहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन, तथा सामाजिक सुरक्षाका क्षेत्रमा वेदकोट नगरपालिकाले विभिन्न नीतिगत पहलहरू अगाडि बढाइरहेको जानकारी गराउनुभयो । साथै, उहाँले आगामी दिनहरूमा पनि महिला उद्यमशीलता प्रवद्र्धन गर्न सहज कर्जा, सीप विकास तालिम तथा स्वरोजगार कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो। स्वागत मन्तव्य राख्दै उहाँले महिलाहरू समाजको अभिन्न अङ्ग भएकाले उनीहरूको अधिकार, सुरक्षा र अवसर सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको क्रममा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, राजनीति, अपाङ्गता, कृषि, खेलकुद, उद्यमशीलता, न्याय तथा सुरक्षा लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने २१ जना महिलाहरूलाई सम्मान गरिएको थियो।
त्यस्तै, विभिन्न श्रम क्षेत्रमा संलग्न भएर आफ्नो अथक परिश्रम र समर्पणबाट आत्मनिर्भर बनेका १३ जना महिलाहरूलाई प्रशंसा पत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पु¥याएका छन्।
कार्यक्रमको अवसरमा हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो। वेदकोट नगरभित्रका ५ किशोरी जागरण समूह सहभागी भएको उक्त प्रतियोगितामा त्रिवेणी किशोरी जागरण समूह प्रथम, आभास किशोरी जागरण समूह द्वितीय, उज्ज्वल किशोरी जागरण समूह तृतीय तथा एकता किशोरी जागरण समूहले सान्त्वना स्थान प्राप्त गरेको छ।
विजेता तथा सान्त्वना स्थान प्राप्त गर्न सफल समूहलाई प्रमाणपत्रसहित क्रमशः रू. ३०००, २५००, १५०० र १००० नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक सुनिता भट्टले गर्नुभएको थियो।
Comments are closed.