धनगढीको मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाईते

महेन्द्रनगर । धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको मृत्यु भएको छ।

२ जना भने घाईते भएका छन्। सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाईते भएका छन्। घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। चारै जना शुक्रवार नुहाउन गएकोमा नुहाउने क्रममा डुबेका थिए।

डुबेका चार जना मध्ये २ जनालाई सकुशल उद्दार गरिएको र दुई जनालाई घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदिमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल फुलबारीबाट संयुक्त रुपमा खटिइ खोजतलास गरिएको थियो।

उता , बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको हो।शनिवार बिहान ८ बजे महाकाली राजमार्ग अन्तर्गत पर्ने सडक छेउमै ति पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

सम्बन्धित

Comments are closed.