महेन्द्रनगर । जयराज पन्त लोक साहित्य पुरस्कार भारत , उत्तराखण्ड, पिथौरागढ निवासी वरिष्ठ साहित्यकार डाक्टर पीताम्बर अवस्थीलाई प्रदान गरिएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा प्रत्येक बर्ष प्रदान गरिने विभिन्न विधाका पुरस्कार मध्ये शिक्षाविद शिवराज पन्त मिठुले स्थापना गर्नुभएको पुरस्कार धनगढीमा एक समारोहका बीच अर्पण गरियो । समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभाका माननीय सांसद विक्रमसिंह धामी रहनु भएको थियो।
डा .अवस्थीले नेपाल र भारतका साहित्यकार, संस्कृतिविद, इतिहासकार, कलाकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना पिथौरागढमा गर्दै आउनुभएको छ । ७० हजार भन्दा बढी पुस्तकहरू भएको संस्कृत ज्ञानप्रकाश पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको उन्नयन गरिरहनु भएको छ ।
आफ्नो आमाको नाममा स्थापना गरिएको हरूली आमा छात्रवृत्ति धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालय धनगढीका चारजना छात्राहरूलाई प्रदान गर्नुभएको छ । युवाहरूलाई कुलतबाट जोगाउन आध्यात्मिक नशामुक्ति अभियान भारत र नेपालका विद्यालयहरूमा संचालन गरिरहनु भएको छ । भारतमा नशामुक्ति अवस्थीका नामले सुप्रसिद्ध हुनुहुन्छ ।
बेटी बचाओ बेटी पढाओ अभियानका पनि अभियन्ता हुनुहुन्छ । सुदूरपश्चिम प्रदेश र कुमाउँ गढवालको सामाजिक सांस्कृतिक जनजीवनको साझा विरासतलाई सुदृढ गर्न र नेपाल भारत सम्बन्धलाई सुमधुर बनाइ राख्न साहित्य मार्फत कटिबद्ध हुनुहुन्छ ।
Comments are closed.