कञ्चनपुरमा स्ववियु निर्वाचन परिणाम सार्वजनिक

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत कञ्चनपुरका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

कञ्चनपुरका ६ वटा क्याम्पसहरूले मंगलबार तोकिएको समयमा मतदान सम्पन्न गरी ती सबै क्याम्पसहरूमा मतगणना कार्य समेत सकिएको छ । ती सबै क्याम्पसहरूले मत परिणाम पनि सार्वजनिक गरिसकेका छन् ।

बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसीको नेतृत्वमा नेविसंघको पूरै प्यानल भारी मतान्तरले विजयी भएको छ । त्यसै गरी, दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसमा सुवास नेगीको नेतृत्वमा नेविसंघकै प्यानल विजयी भएको छ ।

पुनर्वासस्थित जनता क्याम्पसमा नेविसंघका विकास खड्काको सभापतित्वमा पुरै प्यानल निर्वाचित भएको छ । कृष्णपुरस्थित कञ्चन बहुमुखी क्याम्पस गुलरियामा सुनिल ऐरको नेतृत्वमा नेविसंघको पुरै प्यानल विजयी भएको छ । बेलौरीमा रहेका महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पसमा भने अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ ।

महाकालीमा दीपक चौधरी र रामपुरमा रविना रानाको सभापतित्वमा क्रान्तिकारीको पूरै प्यानल निर्वाचित भएको हो । रामपुर बहुमुखी क्याम्पसमा सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

यसअघि, झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघको सभापतित्वमा अखिल (क्रान्तिकारी)  र अनेरास्ववियुबीच भागबण्डा भएको थियो भने दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध विजयी भएको थियो ।

यस पटक सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योति बहुमुखी क्याम्पस, घटाल बहुमुखी क्याम्पस, उदयसरस्वती बहुमुखी क्याम्पस, वारिधी कलेज, बालजागृति कलेज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेन ।

केही क्याम्पसहरूले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढाउन सकेनन् भने केहीमा विभिन्न विद्यार्थी संघसंगठनहरूले तालाबन्दी गरेका थिए । स्ववियु निर्वाचन सम्पन्न भएका क्याम्पसहरूमा मतगणना सकिएपछि आधिकारिक रूपमा विजयी उम्मेदवारहरूको घोषणा गरिएको छ ।

निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनहरूले जनाएका छन् ।

सम्बन्धित

Comments are closed.