प्रधानमन्त्री कपमा सुदूरपश्चिमका किरणले बनाए कीर्तिमानी दुई शतक

महेन्द्रनगर । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज कोशी प्रदेशविरुद्ध शतक बनाउँदै एउटै प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका हुन् ।

कोशीविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए ।

किरण शतकपछि ठूला सट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याच आउट हुन पुगे ।

फागुन २५ बाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेशविरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।

२०२४ मा आयरल्यान्डविरुद्ध टी(२० प्रतियोगितामा डेब्यु गरेका किरणले आफ्नो ब्याटिङमा निखार ल्याउँदै राष्ट्रिय टिममा बलियो दाबेदारी देखाइरहेका छन् ।

सम्बन्धित

Comments are closed.