अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरू स्थायी हुन पाउनुपर्ने माग

महेन्द्रनगर । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार मुख्य मन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै लामो समयदेखि अस्थायी, करार तथा ज्यालादारी पदमा कार्यरत कर्मचारीहरूको भविश्य अन्योलमा परेको भन्दै स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गरेको छन् ।
ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ०५६र०५७ सालदेखि लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति प्रक्रिया रोकिएपछि श्रेणीविहीन पदहरूमा कार्यरत कर्मचारीहरूले उमेर हदबन्दीका कारण अवसर गुमाउँदै आएको र बृद्धावस्थामा खाली हात बस्नुपर्ने अवस्थाले पीडा थपेको छ ।

यस्ता कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी र सुनौलो भविश्य सुनिश्चित गर्न सर्वोच्च अदालतले मिति २०७० माघ ९ मा निर्देशात्मक आदेश दिएको र मिति २०७४ बैशाख २१ मा मन्त्रीपरिषद्ले समेत सहमति जनाएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।
संघले प्रदेश निजामती सेवा ऐन संशोधन गरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई एकपटकका लागि स्थायी गर्ने व्यवस्था गर्न माग गरेको छन् ।

ज्ञापन पत्रमा हाल कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र स्थायी कर्मचारीसरह सबै सेवा सुविधाको सुनिश्चितता गराउन माग गरिएको छ।

सम्बन्धित

Comments are closed.