अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख रुपैयाँ दिने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकाको जयगढ बजारमा गएराति भएको आगलागीका पीडितलाई तत्काल ५० लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मंगलबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवम् पीडितलाई राहत र पुनर्निर्माणका लागि पालिका, सरकार, सङ्घ–संस्था र दातृ निकायलाई सहयोगका लागि अपील पनि गर्नुभएको छ ।

प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई खटाएको छ ।

अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गएराति भएको आगालागीबाट १० कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो ।

आगलागीबाट सात करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सम्बन्धित

Comments are closed.