महेन्द्रनगर । कञ्चनपुरमा युवाहरुले वृद्धवृद्धाहरु बस्ने आश्रममा सरसफाई तथा रंगरोगन गरेका छन् । नयाँ वर्षको शुभकामना सँगै सामाजिक सेवामा सक्रिय युवा अभियान “पावर अफ युथ” समूहले बनखेत महिला तथा वृद्धाश्रम परिसरमा रहेका रूखहरूमा रंगरोगन गर्ने कार्य सम्पन्न गरेको हो ।
अंकित जोशीको नेतृत्वमा सम्पन्न यस अभियानमा १० जनाभन्दा बढी युवाहरूले वृद्धाआश्रममा रहेको रुखहरुमा रंगरोगन गरी वरपर सरसफाई गरेका छन् ।
सेवाभाव, सद्भावना र वातावरणीय संरक्षणको सन्देश बोकेको यो अभियानले वृद्धाआश्रममा आश्रित जीवन बिताइरहेका आमाबुबाहरूका लागि सफा, स्वस्थ र सकारात्मक वातावरण प्रदान गर्ने लक्ष्य राखेको युवा अंकित जोशीले बताए ।
युवाहरूको सामूहिक प्रयासले वृद्धाश्रमको वातावरण सुन्दर बनाउन जीवनको उत्तरार्ध जिवन बिताइ रहनु भएका आमाबुबाहरूको मुहारमा एक प्रकारको खुशियाली र सन्तुष्टि भएको अनुभव आफुहरुले गरेको युवाहरुले बताए ।
“हामीले गरेको सानो काम पनि कसैको जीवनमा ठूलो राहत बन्न सक्छ,सेवाभाव नै हाम्रो अभियानको मूल मन्त्र हो” युवा अंकित जोशीले भने, “हामी युवा हुँदा, हामीसँग समय, ऊर्जा र सोच छ—यिनै कुराले समाज बदल्न सक्छ ।
“ नयाँ वर्षको पहिलो दिनलाई सामाजिक सेवा र प्रकृतिसँगको सम्बन्ध सुदृढ बनाउँदै मनाउने यो प्रयासले केवल वातावरणीय संरक्षणको सन्देश दिएको छैन, यसले मानवता र करुणाको बलियो उदाहरण समेत प्रस्तुत गरेको उनले बताए ।
यस्ता सेवामूलक अभियानले युवा पुस्तालाई सामाजिक उत्तरदायित्वप्रति अझ सजग बनाउने वृद्धा आश्रम संचालिका शारदा चन्दले बताईन् । सबैले यो वृद्धा आश्रममा आएर साथ र सहयोग गर्न सक्यो भने, सहारा विहिन आमाबुवालाई पनि सजिलो हुने र आत्मियता पनि बढेर जाने संचालिका चन्दले बताईन् ।
वृद्धआश्रममा आएर युवाहरुले गरेको सरसफाई तथा रंगरोगन गरेको प्रती पावर अफ युथलाई धन्यवाद व्यक्त गरीन । आगामी दिनहरूमा यस्तै सकारात्मक अभियान निरन्तर सञ्चालन गर्ने युवा अंकित जोशीले बताए ।
Comments are closed.