महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा ‘बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ भर्ना अभियान सञ्चालन भएको छ। मंगलबार वडा नं. ४ स्थित कृष्ण माध्यमिक विद्यालयमा नगर प्रमुख हेमराज ओझाले विद्यार्थी भर्ना अभियानको सुरुवात गरेका हुन्।
विद्यालय भर्ना अभियानलाई सफल बनाउन नगरपालिकाका सबै वडामा जनप्रतिनिधि परिचालित भएका छन्। नेपाल सरकारको नीति अनुसार सबै सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन भएको नगर प्रमुख ओझाले बताए। उनका अनसार नगरपालिकाको निर्णय अनुसार सबै वडाहरुमा जनप्रतिनिधिहरु भर्ना अभियानमा सहभागी भएका छन्।
‘नगर कार्यपालिकाको निर्णय बमोजिम म पनि कृष्ण माध्यमिक विद्यालयको भर्ना अभियानमा सहभागी भएको छु,’ उनले भने, ‘सामुदायिक विद्यालयको भर्ना अभियानमा सबैलाई सहयोग गरिदिन आग्रह गर्दछु।’
नगरपालिकाको कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा भर्ना दर बढाउन जनप्रतिनिधिलाई खटाएको शिक्षा शाखा प्रमुख अनिता ठगुन्नाले बताइन्। उनका अनुसार कार्यपालिका बैठकले नगर प्रमुखदेखि वडा सदस्यसम्मलाई वडागत रूपमा जिम्मेवारी तोकेको छ। कृष्णपुरमा रहेका ३२ सामुदायिक विद्यालयमा अभियान सञ्चालन गरिएको उनी बताउँछिन्।
‘सबै विद्यालयको भर्ना अभियानसँग जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु खटिएका छन्,’ उनले भनिन्,‘सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी संख्या बढाउन यो अभियान सञ्चालन गरिएको हो, सबै गाउँ, टोल तथा घरघरमा पुगेर भर्ना अभियानबारे जानकारी दिनेछौं।’
नगरपालिकाले सबै जनप्रतिनिधि तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने व्यवस्था समेत गरेको छ।
शैक्षिक सत्र २०८२ देखि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालयका कर्मचारीका सन्तानहरूलाई पनि सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरिएको छ।
Comments are closed.