यू १९ विश्वकप छनोटः नेपालको ह्याट्रिक जित,हङकङ ९ विकेटले पराजित

महेन्द्रनगर । काठमाडौंमा जारी आइसीसी यू१९ विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा पनि नेपाल विजयी भएको छ। पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओेमानलाई ८ विकेटले हराएको नेपालले आज तेस्रो खेलमा हङकङलाई ९ विकेटले पराजित गर्याे।

तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो ।

नेपालका तीनै ब्याटरले आक्रामक ब्याटिङ गर्दै सहज जित पक्का गरेका थिए । ओपनर निरज यादव १२ बलमा २३ रन जोड्दै आउट भए ।

उनी छैटौं ओभरमा आउट हुनुअघि ५४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर साहिल पटेलले ४२ रनको योगदान दिए । उनले ८ चौका प्रहार गरे । कप्तान नरेन भट्ट २३ बलमा ३९ रन जोड्दै नटआउट रहे । उनले पनि ८ चौका प्रहार गरे ।

टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङ ४७ औं ओभरमा ११५ रनमा अलआउट भयो। उसका कप्तान शिव माथुरले अर्धशतकीय पारी खेल्दै ६३ बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

युवराजले खत्रीले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे । नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ ।

 

सम्बन्धित

Comments are closed.