महेन्द्रनगर । प्रतिनिधिसभा सदस्य तथा पूर्व परराष्ट्रमन्त्री माननीय एनपी साउदले वर्तमान संघीय प्रणालीमा थारू समुदायको प्रतिनिधित्व अझ सशक्त हुन आवश्यक रहेको बताउनु भएको छ । नेपाल थारू संघ, कञ्चनपुरको पहिलो जिल्ला तथा क्षेत्रीय अधिवेशन कार्यक्रमको प्रमुख अतिथी रहनु भएको उहाँले नीति निर्माणमा थारूहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु अत्यावश्यक रहेको जिकिर गर्नु भयो ।
बिहीबार कृष्णपुर नगरपालिका–६, सिंहपुरस्थित सभाहलमा भव्यताका साथ कार्यक्रम गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य तथा पूर्व परराष्ट्रमन्त्री माननीय एनपी साउदले पानसमा दियो बालेर अधिवेशनको उद्घाटन गर्नुभयो। उहाँले थारू समुदायको हकअधिकार, सशक्तीकरण र सांस्कृतिक पहिचानको संरक्षणमा संघले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।“
कार्यक्रममा संघका केन्द्रीय प्रतिनिधि, जिल्ला तहका पदाधिकारी, बुद्धिजीवी, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनमा संगठनको आगामी कार्ययोजना, संरचना विस्तार तथा सदस्यता अभियानसम्बन्धी गहन छलफल भएको थियो।संघको तर्फबाट कार्यक्रमको सभाध्यक्षता नेपाल थारू संघ कञ्चनपुरका अध्यक्ष डा. फुलराम चौधरीले गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्द शाह, क्षेत्रीय नेताहरू लगायत विशिष्ट अतिथिहरूको सहभागिता थियो।कार्यक्रममा थारू समुदायको सांस्कृतिक झल्को दिने विविध प्रस्तुतीहरू, सम्मानपत्र वितरण, र परम्परासँग जोडिएका मन्तव्यहरू प्रस्तुत गरिएको थियो।
थारू महिलाहरूले नेतृत्व तहमा अझ बढी सहभागिता सुनिश्चित गर्न माग राखे।एक सहभागीले गुनासो गर्दै भने, “राज्यकोषबाट सिंहदरबार गाउँसम्म आएको भनिए पनि थारू समुदायले त्यो अनुभूति अझै पाउन सकेका छैनन्।”
अधिवेशनकै क्रममा कञ्चनपुर इसाई समाज, कृष्णपुर शाखाले भलमन्सा बरगरको तर्फबाट ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा इसाई समुदायको पर्व (क्रिसमस, गुड फ्राइडे) का लागि विदा व्यवस्था, समाधिस्थलका लागि व्यवस्था, बजेटमा समानता, नगर सभाहलको प्रयोग सुविधा, र धार्मिक सहिष्णुता तथा सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको थियो।
कञ्चनपुर इसाई समाजका जिल्ला सचिव घनश्याम सोपले ज्ञापनपत्र बुझाउँदै समुदायका मागहरूप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
Comments are closed.