महेन्द्रनगर । महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरू गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए तथा स्थानीय पालिकासँगको सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महाकाली नदीको चार लेन पुलमा नेपालमै पहिलो पटक कलर कोडसहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरु गरेको हो।
यसले नदीको सतहको स्तरअनुसार बाढीको जोखिम संकेत गर्न हरियो, पहेँलो, सुन्तला र रातो रङ्गमार्फत जनचेतना फैलाउने उद्देश्य राखेको छ। महाकाली नदीको दुवै किनारमा गेज मिटर स्थापनाका लागि मापन कार्य सम्पन्न गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार साहले महाकाली नदीको दुवै किनारमा कलर कोडसहितको गेज मिटर स्थापना गर्न लागिएको बनाउनुभयो। उहाँले हरियो रङ्गले सामान्य अवस्था, पहेँलो रङ्गले सतर्क रहनुपर्ने अवस्था, सुन्तला रङ्गले तयारी अवस्थामा रहनुपर्ने अवस्था र रातो रङ्गले तुरुन्तै सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था दर्शाउने बताउनुभयो।
उहाँले यी रङ्ग संकेत प्रणाली नेपालमा पहिलोपटक महाकाली नदीमा लागू भईरहेको बताउँदै यसले पानीको सतहको अवस्थाबारे स्थानीयलाई सजिलै बुझ्न र पूर्वतयारी गर्न मद्दत पुग्ने विश्वास गर्नुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले महाकाली नदि चार लेन पुलको तल्लो तटीय क्षेत्रका समुदायलाई बाढी वा डुवानको जोखिम बारे समयमै जानकारी दिने उद्देश्यले गेज मिटर स्थापना गरिएको बताउनुभयो।
Comments are closed.