महेन्द्रनगर । बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरेका ३० वटाभन्दा बढी भौतिक संरचना उद्देश्य अनुसार प्रयोग नहुँदा अलपत्र परेका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि, खेलमैदान, सभा हल, मनोरञ्जन पार्क, हवाई उडानदेखि बसपार्क र पुलसम्मका भौतिक संरचना वर्षौंदेखि अलपत्र परेका हुन् । पाटन नगरपालिकामा मात्रै १४ वटा भौतिक संचरना अलपत्र अवस्थामा छन् ।
पाटन नगरपालिका–८, खोड्पेमा ५० लाख खर्च गरेर सङ्घीय सरकारले निर्माण गरेको ट्रमा सेन्टर सञ्चालन नहुँदा भवन अलपत्र परेको छ । सोही ठाउँमा प्रदेश सरकारको लगानीमा निर्माण भएका शीतभण्डारका तीन वटा भवन पनि अलपत्र परेका छन् ।
शीत भण्डार सञ्चालन नहुँदा यहाँका किसान मर्कामा परेका छन् । सोही वडाको धारी जुकेपानीमा प्रदेश सरकारले निर्माण गरेका सहरी स्वास्थ्य क्लिनिकका भवन पनि सेवा सञ्चालन नहुँदा अलपत्र परेको स्थानीय अर्जुन विष्टले बताए ।
पाटन नगरपालिका–६ मा दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरेको हिरापुर मनोरञ्चन पार्क, विमानस्थल, पाटन–पञ्चेश्वर सडकखण्ड जोड्ने पुल, बसपार्क अलपत्र परेका छन् ।
पाटन नगरपालिकाको आँखैअगाडि करोडौँ रुपियाँ खर्च गरेर निर्माण भएको मनोरञ्जन पार्क, बसपार्क र १८ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको विमानस्थल पनि सञ्चालन नहुँदा संरचना अलपत्र परेका छन् । हवाई उडानका लागि सरकारसित पटक पटक माग गरिए पनि सुनुवाइ नभएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताए ।
दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा प्रदेश सरकार मातहतको कृषि निर्देशनालयले ५० लाख रुपियाँ खर्च गरेर निर्माण गरेको शीतभण्डारको भवन पनि अलपत्र परेको छ ।
सोही ठाउँमा क्याम्पसका लागि भनेर निर्माण सुरु गरिएको भवनको पिल्लर मात्रै ठड्याएर पाँच वर्षदेखि अधुरो संरचना अलपत्र छाडिएको छ ।
मेलौली नगरपालिका–८, भम्तखोरडामा मुख्यमन्त्री नमुना कृषि योजनामा अढाइ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएका फलामका पोली हाउस अलपत्र छाडिएको छ ।
सो योजनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेका कारण फलामका पोली हाउस अन्यत्रका किसानलाई उपयोग गर्न दिन गाह्रो भएको वडाध्यक्ष तपेन्द्र विष्टले बताए ।
Comments are closed.