भीमदत्त नगरमा एडिबी फेज–२ परियोजना स्वीकृत, निर्माण हुनेछन् १८ सडक र ढल संरचना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडिबी) को फेज–२ परियोजना अन्तर्गत १८ वटा सडक तथा ढल संरचनाको निर्माण कार्य सुरु हुने भएको छ ।

नगरप्रमुख पदम बोगटीको निरन्तर पहल, संघीय मन्त्रालयहरूसँगको समन्वय र फेज–१ मा मापदण्डअनुसारको सफल कार्यान्वयनको आधारमा गत शुक्रबार एडिबीले फेज–२ परियोजना स्वीकृत गरेको हो ।

बोगटीका अनुसार, फेज–२ अन्तर्गत कुल ८.१४६ किलोमिटर सडक र १४.७१७ किलोमिटर ढलको निर्माण हुनेछ । यसमा १८ वटा सडक ढलसहित निर्माण हुनेछ भने ३ वटा सडकमा छुट्टै ढल निर्माण गरिनेछ ।‘यो स्वीकृति केवल एउटा परियोजना होइन, नगरको समग्र शहरी विकासतर्फ लिएको महत्वपूर्ण कदम हो,’ नगरप्रमुख बोगटीले भने ‘

फेज–१ मा पारदर्शिता र मापदण्डअनुसारको निर्माण भएकै कारण आज हामी फेज–२ मा प्रवेश गर्न सफल भएका हौं । अबको लक्ष्य भनेको गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्नु हो ।’ बोगटीले निर्माणको क्रममा अस्थायी असहजता आउन सक्ने जनाउँदै नगरवासीसँग सहकार्यको अपेक्षा समेत गरेका छन् । ‘यो हाम्रो नगर रुपान्तरणको यात्राको दोस्रो खुड्किलो हो ।’

उनले भने ‘स्थायी पूर्वाधारका लागि केही समयको असहजता स्वीकार गर्नुपर्छ । अन्तिम परिणाम सबैको हितमा हुनेछ ।’ फेज–२ अन्तर्गतको ठेक्का प्रक्रियाको तयारी भइरहेकोले छिट्टै निर्माण कार्य सुरु हुने जनाइएको छ । यसैबीच, फेज–१ अन्तर्गत निर्माणाधीन सडक, ढल तथा सडकबत्ती जडान कार्यहरू अन्तिम चरणमा पुगेका छन् ।

ती संरचनाहरू सञ्चालनमा आउन थालेसँगै नगरको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिएको छ । ‘पहिलो चरणको अनुभवले दोस्रो चरणमा अझ व्यवस्थित र प्रभावकारी काम गर्न हामीलाई आत्मबल दिएको नगरप्रमुख बोगटीले बताए ।

सम्बन्धित

Comments are closed.