महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रमिकहरुलाई काम गर्न सहजता होस भनेर विभिन्न काम गर्ने हाते औजारहरु सहयोग गरेको छ । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकको विषेश पहलमा श्रमिक तथा मजदुरहरुलाई विभिन्न हाते औजारहरु सहयोग गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिकामा सञ्चालनमा आएका वडाहरुमा कार्यरत श्रमिकहरुलाई काम गर्न सहजता होस भनेर उहाँहरुको सुरक्षाको लागी बेल्चा, हाते ठेला हसिया, गैँठी, साबेल, हाते पञ्जा, खुट्टामा लगाउने बुट, माटो बोक्ने तस्लाहरु लगायतका सामग्रीहरु वडा मार्फत श्रमिकहरुलाइ सहयोग गरिएको हो ।
भीमदत्त नगरपालिकाका वडा नम्वर १, ३, ५, ७, ८, १०, १२, १३, १४, १६ र १७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको भएर उक्त वडाहरुमा ती सामग्रीहरु वितरण गरिएको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले बताउनु भयो ।
गत वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्न जाँदा महिला दिदिबहिनीहरुले काम गर्दा औजारको अभावले समस्या भएको जानकारी गराए पछि उहाँहरुको सहजतालाइ मध्ये नजर गर्दै यो वर्षमा आफनो पहलमा बजेट विनियोजन गरिएको बताउनु भयो ।
औजारहरु वितरण गरेपछि उहाँहरुलाइ सुरक्षित तवरले आफना योजनाहरुमा छिटो छरितो काम गर्न सहजता हुने र श्रमिकहरुलाई पनि काम गर्न आन्नद लाग्ने उहाँले जानकारी गराउनु भयो । भीमदत्त नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष भोज राज जोशिले उपप्रमुख लेखकको पहलमा मात्रै यो कार्य हुन पाएको बताउनु भयो ।
श्रमिक, मजदुरहरुको मागलाई सम्बोधन गरेर आज विभिन्न हाते औजारहरु वितरण गरिदिनु भएकोमा उहाँले धन्यवाद व्यक्त गर्नु भयो । यस्तै भीमदत्त नगरपालिका १३ का अध्यक्ष रामबहादुर बोहराले यो कार्य सम्मानजनक रहेको र श्रमिकहरुको मागलाई सम्बोधन गरी बजेट विनियोजन गरेर मजदुरहरुलाई काम गर्न सहजता गराई दिनु भएको बताउनु भयो ।
साथै विगतमा पनि पालिकाबाट भएको सहयोगले मजदुरहरुलाई काम गर्न सजिलो भएको र यो सामानहरुले पनि निकै ठुलो राहत महसुस भएको बताउनु भयो । भीदत्त नगरपालिका १४ की श्रमिक बसन्ती कुमारी कार्की विष्टले पहिला काम गर्दा हातमा चोट लाग्ने खुट्टा काटिने काम गर्न अप्ठयारो भई रहेको बेलामा अहिले आएको यी हाते औजारहरुले काम गर्न सहजता हुने बताउनु भयो ।
अहिले पालिकाले ४ लाख र प्रदेशको २ लाख गरी ६ लाखमा हाते औजारहरु वितरण गरिएको भीमदत्त नगरपालिकाका रोजगार संयोजक कृष्ण चन्दले बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक मर्मत गर्ने, कुलो निर्माण गर्ने, विद्यालयको पर्खाल मन्दिरको पर्खाल निर्माण गर्ने लगायतका कामहरु भइरहेको अवस्थामा उहाँहरुलाई सुरक्षित सामग्रीहरु वितरण गरिएको बताउनु भयो ।
Comments are closed.