महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाले अपांगता भएका व्याक्तिहरुलाई ह्वीलचियर वितरण गरेको छ। नगरपालिकाले एनएनएसडब्लुएसँगको सहकार्यमा १० जनालाई ह्वीलचियर वितरण गरेको हो।
नगरपालिकाको ३ लाख र एनएनएसडब्लुएको १ लाख सहयोगमा नगरभित्रका १० जना अपांगता भएका व्याक्तिलाई सहायक सामाग्री वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले बताइन्। नगरपालिकाका उपप्रमुख कल्पना पन्तको अध्यक्षतामा भएको ह्वीलचियर वितरण कार्यक्रममा नगर प्रमुख रणबहादुर महरा प्रमुख अतिथि रहेका थिए।
नगर प्रमुख महराले अगामी दिनहरुमा पनि अपांगता भएका व्याक्तिहरुलाई आवश्यक सहायक सामाग्री वितरण गरिने बताएका छन्। नगर उपप्रमुख पन्तले अति अशक्त अपांगता भएका व्याक्तिहरुलाई छनौट गरेर सहायक सामाग्री वितरण गरिएको बताइन्।
‘नगरभित्रका सबै खालका अपांगता भएका व्याक्तिहरुलाई सहायक सामाग्री वितरण गर्ने हाम्रो योजना रहेको छ,’ उनले भनिन्, ‘विभिन्न संघसंस्थाहरुसँग समन्वय गरिरहेका छौं।’ वितरण गरिएका ह्वीलचियरहरु ५ वर्षसम्म प्रयोग गर्न सकिने एनएनएसडब्लुएका बरिष्ठ समन्वय अधिकृत टेकबहादुर बुढाले बताए। ‘त्यो भन्दा पहिला बिग्रिएमा मर्मत, सम्भार गरिनेछ,’ उनले भने।
Comments are closed.