कञ्चनपुरमा आईरन चक्कीको अभाव छैन ः स्वास्थ्य कार्यालय कञ्चनपुर

महेन्द्रनगर । कञ्चनपुरमा आईरन चक्कीको अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लामा अभाव नभएपनि अन्य सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ‘आइरन चक्की’को भने अभाव देखिएको छ ।

‘आइरन चक्की’ अभाव हुँदा प्रसूति जाँचका लागि आएका गर्भवती महिला निराश भएर फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले अहिले पालिकाहरुले आफैले आईरन चक्कीको व्यवस्थापन गरेर सेवा दिईरहेको जनाएको छ ।

सोमवार बेदकोट नगरपालिका, लालाझाडी गाँउपालिका र पुनरवास नगरपालिकामा फोन मार्फत जानकारी लिँदा आईरन चक्कीको अभाव नरहेको पाईएको कार्यालयका प्रमुख ओमप्रकाश जोशीले बताउनु भयो । संघिय सरकारबाट प्रदेशमा आउने औषधीको टेण्डर ढिलाई भएर औषधीहरुको आपूर्ती नभएपनि जिल्लामा पालिकाहरुले आफै खरिद गरेर भएपनि औषधी वितरण गरिरहेको उहाँले बताउनु भयो ।

कञ्चनपुरमा ११ हजार २ सय ८ महिला गर्भवती रहेको कार्यालय प्रमुख ओम प्रकाश जोशीले बताए । उता, केन्द्रबाट नै यो औषधि खरिद गर्ने बजेट नभएको भनेर परिपत्र गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

‘केन्द्रको यो पत्र प्राप्त गरेसँगै हामीले डोटीका नौ वटै स्थानीय तहलाई खरिद गर्नु भनेर चिठी पठाएका छौं,’ उनले भने, ‘अहिले हामीलाई कुनै औषधि खरिद गर्ने अधिकार छैन । संघ, प्रदेश र स्थानीय सरकारलाई नै अधिकार दिइएको छ । अब उहाँहरूले आफ्नो तरिकाले औषधि व्यवस्थापन गर्नुहोला ।

’जिल्लामा औषधि अभावको समस्या आउन सक्छ भनेर ६ महिनाअगाडि नै कुरा उठेको स्वास्थ्य निर्देशनालय राजपुरका प्रमुख डा. खगेन्द्र बमले बताए । उनले भने, ‘हामीले समयमै यसबारे संघ सरकारलाई जानकारी दिएका हौं तर बजेट अभावका कारण औषधि किन्न सकिएको छैन ।

थोरै मात्रामा स्थानीय सरकारलाई खरिद गर्नु भनेका छौं, उहाँहरु खरिद गर्नुहुन्छ होला ।’ प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटपछि मात्रै खरिद गर्ने बमले बताए । जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लामा अहिले ५ हजार ६ सय महिला गर्भवती छन् ।

तर जिल्लामा आइरन चक्की अभाव भएको कार्यालय प्रमुख झपट ढुंगानाले जानकारी दिए । उनले भने, ‘हामीसँग भएको २० हजार ट्याब्लेट औषधिको म्याद अप्रिलमा सकिएको छ ।’सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला मानिने बाजुरामा पनि आइरन चक्की अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख महेश चन्दले भने, ‘हामीलाई माथिबाट भएको पत्रचारअनुसार स्थानीय सरकारलाई एक महिनाअघि नै आफै खरिद गर्नु भनेका छौं । अहिले यो औषधि सेवन गर्ने २ हजार ८ सय ४६ जना छन् ।’यस्तै समस्या जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले पनि झेल्दै छ ।

डडेल्धुरा स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले आफूहरुसँग भएको २ लाख ट्याब्लेट कैलाली पठाएको बताए । कार्यालयको तथ्यांकअनुसार जिल्लामा २ हजार ८ सय ९७ जना गर्भवती छन् ।

दार्चुलामा भने एक महिनाका लागि आइरन चक्की मौज्दात रहेको कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिए । त्यसपछि के गर्ने भन्ने विषयमा आफूहरु अन्योलमा परेको उनको भनाइ छ ।

सम्बन्धित

Comments are closed.