महेन्द्रनगर बजारमा अखाद्य वस्तु मिलाएर बेचिन्छन खानेकुराहरु

महेन्द्रनगर । भीमदत्त नगरपालिका अन्तर्गत महेन्द्रनगर बजार क्षेत्रका होटल, रेष्टुरेन्ट, दुग्ध डेरी र मिठाई पसलहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र भीमदत्त नगरपालिकाको संयुक्त टोलीले छड्के अनुगमन गरेको छ ।

खाद्य सुरक्षालाई ध्यानमा राख्दै गरिएको अनुगमनका क्रममा विभिन्न पसल तथा होटलबाट संकलन गरिएका नमुनाहरू घुम्ती खाद्य प्रयोगशालामा परीक्षण गर्दा गम्भीर कमजोरीहरू फेला परेका छन् । परीक्षणको क्रममा केही होटल तथा रेष्टुरेन्टमा मासुजन्य परिकारमा अत्याधिक रङको प्रयोग, पकाउन प्रयोग गरिएको तेलको गुणस्तर कमजोर, दूधमा सोडा मिसावट तथा घ्यूमा फोहोरजन्य वस्तुहरू भेटिएका छन् ।

साथै, अधिकांश स्थानमा सरसफाइको अवस्था पनि न्यूनस्तरको देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले बताए । स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता मिसावटयुक्त तथा खान योग्य नरहेका खाद्य सामग्रीहरू तत्काल नष्ट गरिएको र सम्बन्धित व्यवसायीहरूलाई कडा चेतावनी दिँदै आगामी दिनमा यस्ता गतिविधि नगर्न सम्झाई बुझाई गरिएको समेत उनले बताए ।

नगरपालिकाले यस्ता अनुगमनलाई नियमित रूपमा जारी राख्ने र जनस्वास्थ्यसँग सम्बन्धित कुनै पनि लापरवाहीलाई कडाइका साथ निगरानी गरिने जनाएको छ ।

नगरपालिकाले सबै उपभोक्तालाई खानेकुरा किन्दा सावधानी अपनाउन अनुरोध गरेको छ । मिसावट वा शंका लाग्ने सामग्री देखिएमा नजिकको सम्बन्धित कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.