महेन्द्रनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले क्रिकेट खेलको प्रवर्द्धन र युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले ‘बिट द स्पिड’ कार्यक्रमको दोस्रो सिजन सुरु गरेको छ। गत वर्षको अपार सफलतापछि यो वर्ष पनि वर्ल्डलिंकले यो अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलर खोज्ने पहललाई निरन्तरता दिएको छ।
‘बिट द स्पिड’ सिजन २ ले नेपालभरका क्रिकेटप्रेमी युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। यो अभियान वैशाख २६ गतेदेखि सुरु भई जेठ २४ गतेसम्म देशका २० भन्दा बढी सहरहरूमा सञ्चालन हुनेछ। वर्ल्डलिंकले यो कार्यक्रममार्फत नेपालको अर्को क्रिकेट स्टार खोज्ने लक्ष्य राखेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्षम होस्।
यो अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १० प्रतियोगीहरूलाई काठमाडौँमा विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ। यो प्रशिक्षणमा सहभागीहरूलाई क्रिकेटका विज्ञहरूले आफ्नो कौशललाई अझ निखार्ने अवसर प्रदान गर्नेछन्। त्यसैगरी, अभियानको उत्कृष्ट एक जना प्रतिभाले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुने दुर्लभ अवसर प्राप्त गर्नेछन्। यो अवसरले नेपाली क्रिकेटरलाई विश्वस्तरीय प्रशिक्षण र अनुभव हासिल गर्ने बाटो खोल्ने विश्वास गरिएको छ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख धनराज उपाध्यायका अनुसार महेन्द्रनगरमा यो अभियान जेठ ११ गते आयोजना हुनेछ। उनले यो कार्यक्रमले सुदूरपश्चिमका युवाहरूलाई आफ्नो क्रिकेट प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताए। “हामीले गत वर्ष यो अभियानबाट धेरै प्रतिभावान् खेलाडीहरू फेला पारेका थियौँ। यो वर्ष पनि हामी उत्कृष्ट प्रतिभाहरू खोज्न उत्साहित छौँ,” उनले भने।
वर्ल्डलिंकले ‘बिट द स्पिड’ जस्ता अभियानहरू मार्फत नेपाली क्रिकेटको विकास र युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। कम्पनीले इन्टरनेट सेवामार्फत डिजिटल क्षेत्रमा मात्र नभई खेलकुद र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गरेको छ। यो अभियानले ग्रामीण तथा शहरी क्षेत्रका युवाहरूलाई समान अवसर प्रदान गर्दै क्रिकेटप्रति उनीहरूको रुचि र लगावलाई अझ बढाउने अपेक्षा गरिएको छ।
वर्ल्डलिंकले देशभरका क्रिकेटप्रेमी युवाहरूलाई यो अभियानमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न अपिल गरेको छ। यो कार्यक्रमले नेपालको क्रिकेट क्षेत्रमा नयाँ सम्भावनाहरू उजागर गर्ने र युवाहरूलाई आफ्नो सपना पूरा गर्ने दिशामा प्रेरित गर्ने विश्वास कम्पनीले लिएको छ।
Comments are closed.