महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२र०८३ को बजेट आइतबार अपराह्न ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने समय तालिका निर्धारण गरिएकोमा तयारी पूरा नभएपछि दुई घण्टाका लागि पछाडि धकेलिएको छ ।
बजेटको आकार र योजना समावेशलाई लिएर सत्तारुढ कांग्रेस र एमाले मन्त्रीहरूबीच शनिबार रातिदेखि असमझदारी उत्पन्न भएको छ । बजेट तयारी पूरा नभएकै कारण मुख्यमन्त्रीको अनुरोधमा प्रदेश सभा सचिवालयले साँझ ७ बजे बैठक बस्ने सूचना प्रदेशसभा सदस्यहरूलाई पठाएको छ ।
शनिबार रातभर र आइतबार बिहानसम्म पनि मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच बजेट रकम खिचातानी चलेको स्रोतले बताएको छ । त्यही कारण आइतबार मध्याह्नसम्म पनि आर्थिक मामिला मन्त्रालयले बजेट तयारीको काम पूरा गर्न सकेन ।
प्रदेश नीति तथा योजना आयोगले २४ अर्बको बजेट सिलिङ निर्धारण गरे भए पनि खिचातानीपछि ३१ अर्ब ४७ करोडको बजेट आउन लागेको आर्थिक मामिला मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले यसअघि २९ देखि ३० अर्बको बीचमा बजेट आउने बताएको थियो ।
बजेटकै खिचातानीमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार राति मनमुटावसमेत उत्पन्न भएको सत्तारुढ दल कांग्रेसका एक सांसदले बताए ।
ती सांसदका अनुसार सबैभन्दा धेरै बजेट हुने भौतिक पूर्वाधार विकासमन्त्री पालले आफ्नो मन्त्रालयलाई बजेट रकम कम भएको भन्दै योजनाको प्रविष्ट गर्न नै ढिलाइ गरेका थिए ।प्रदेश नीति तथा योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ७ अर्ब ५५ करोडको सिलिङ दिएको थियो ।
तर बजेट अपुग हुने भन्दै मन्त्रालय र मातहतका कुनै पनि कार्यालयले काम नै अघि नबढाएपछि आर्थिक मामिलाले ७० करोड थपेको थियो । त्यतिले पनि नपुग्ने भन्दै मन्त्री पालले अडान लिएपछि शनिबार राति केही रकम थप गरिएको मन्त्रालय निकट एक स्रोतले बताएको छ ।
त्यसै क्रममा मुख्यमन्त्रीसहित तीन जनाबीच खटपट भएको थियो । पाल एमालेबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा र मुख्यमन्त्री कांग्रेसका हुन् ।
Comments are closed.